बागमती प्रदेश ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ घोषणा

0
2

मकवानपुर, असार २६ । बागमती प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गरिएको छ । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय र मानवसेवा आश्रमको सहकार्यमा प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा प्रदेश गरेको हो ।
शुक्रबार हेटौंडामा आयोजित एक समारोहमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुहुँदै प्रदेशलाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश घोषणा गर्नुभयो । सो अवसरमा उहाँले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त प्रदेश कायम गर्ने तथा मानवता प्रबद्र्धनमा कृयाशिल सबै सरोकारवालाहरुको समझदारी, समन्वय र सहकार्यले घोषणा कार्यान्वयनलाई मुर्तता दिने विश्वास व्यक्त गर्नुभयो ।
बागमती प्रदेश सहयोगापेक्षी सडक आश्रित मानवमुक्त घोषणा भएको तेस्रो प्रदेश हो । यसअघि कर्णाली प्रदेशलाई २०७६ सालमा र गण्डकी प्रदेशलाई २०७८ सालमा सहयोगापेक्षी सडकआश्रित मानवमुक्त प्रदेश घोषणा गरिएको थियो । हेटौंडा–९ लामसुरेस्थित मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त बनाउने उद्देश्यका साथ बिगत १४ वर्षदेखि काम गर्दै आएको छ । २३ जिल्लाका ३४ स्थानमा शाखा स्थापना गरेर काम गरिरहेको आश्रमले बागमती प्रदेशको मकवानपुरसहित चितवन, काठमाडौं, ललितपुर, भक्तपुर र धादिङसहित १० जिल्लामा सेवा विस्तार गरेको छ ।
बागमतीमा हेटौंडासहित १० वटा आश्रममा शुक्रबारसम्म ३३२ महिला र ५७९ पुरुष गरी ९ सय ११ जनाले आश्रय लिइरहेका छन् । हेटौंडाबाट सुरु भएको मानवसेवा आश्रमले हालसम्म बागमती प्रदेशका विभिन्न जिल्लाबाट १ हजार ७ सयजना भन्दाबढीको उद्धार गरेको जनाएको छ । उद्धार गरिएका कतिपयलाई पारिवारिक पुनर्मिलन गराएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । २०८२ सालमै ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त’ देश घोषणा गर्ने लक्ष्य लिइए पनि जेनजी आन्दोलन, निर्वाचनलगायतका कारण पूरा नभएको समेत उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here