मधेश सरकारकाे बजेट सर्वसम्मत पारित

0
1

हेटाैंडा, असार ३१ । मधेश प्रदेश सरकारकाे आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सर्वसम्मतिले आज पारित भएको छ । प्रदेश सरकारद्वारा प्रदेशसभामा पेश भएकाे बजेट सर्वसम्मत पारित भएको हाे ।
बजेटमा समावेश योजना छनौट, विनियोजन प्रक्रिया तथा केही शीर्षकमा देखिएका त्रुटिलाई लिएर विपक्षी दलहरूले सुरुदेखि नै असन्तुष्टि जनाउँदै आए पनि विपक्षी दलहरूको बीचमा बजेट संशोधन सहितको विषयमा सहमति पछि आज पारित भएको हो । विपक्षीको विरोधका कारण बजेट पारित प्रक्रिया प्रभावित बनेपछि प्रदेशसभाले विवाद समाधानका लागि प्रदेश सभाबाट विभिन्न दलहरूको सहभागितामा सात सदस्यीय विशेष कार्यदल गठन गरेको थियो ।
कार्यदलले बजेटका कमजोरी सुधार तथा योजना वितरणलाई थप व्यवस्थित बनाउन १० बुँदे सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । उक्त प्रतिवेदनका अधिकांश सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरेपछि सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुटेर बजेट पारित भएको हो । दलहरूका बीचमा सहमति भएपछि मधेश प्रदेशका अर्थमन्त्रीको प्रस्तावमा सभामुखले बजेट पारित गर्नका लागि प्रस्ताव पेश गरेपछि आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट सर्वसम्मतिले पारित गरेको घोषणा गर्नुभयो ।
बजेट पारित भएसँगै लामो समयदेखि अन्योलमा रहेको प्रदेशको बजेट सम्बन्धि अन्योलता समाप्त भएको छ । सरकारले स्वीकृत बजेटअनुसार विकास निर्माण, सेवा प्रवाह तथा अन्य कार्यक्रम कार्यान्वयनको बाटो खुलेको छ ।
यसअघि बजेटमाथि उठेको विभिन्न प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री कृष्ण प्रसाद यादवले विपक्षी दलहरूबाट उठेका सुझावहरू बजेटमा समावेश गरेर कार्यान्वयन गर्दै जाने बताउनुभयो । मधेश प्रदेश सरकारका अर्थमन्त्री यूवराज भट्टराईले अगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको आय व्ययसहितको बजेट गत असार १ गते प्रदेशसभाको बैठकमा पेश गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here