मकवानपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

0
2

मकवानपुर, २२ असार । मकवानपुर जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सोमबार हेटौंडामा आयोजित एक बिशेष समारोहकाबीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मकवानपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुभएको हो ।
घरधुरी सर्वेक्षण र प्रमाणीकरणका क्रममा खोप लगाउन छुटेका र ड्रप आउट (बिचमै खोप लगाउन छाडेका) ३४ जना बालबालिकालाई सम्पूर्ण खोप लगाएसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला खोप फोकल पर्सन बासुदेव रिमालले बताउनुभयो । पूर्ण खोप सुनिश्चित कार्यान्वयनका क्रममा जिल्लाका कुल ४ हजार ३३५ जना बालबालिकाहरुलाई सम्पूर्ण खोप लगाईएको रिमालले बताउनुभयो ।
घरधुरी सर्वेक्षण र प्रमाणीकरणका क्रममा जिल्लाको हेटौंडा उपमहानगरपालिकामा १७ जना, बागमती गाउँपालिकामा १२ जना, मनहरीमा ४ जना र भीमफेदीमा १ जना गरि ३४ जना बालबालिकाले शुन्य खोप वा ड्रप आउट अर्थात (बिचमै खोप लगाउन छाडेका) पाईएको थियो । सर्वेक्षणकै क्रममा १५ महिना भित्रका खोप लगाईरहेका ११ जना र २४ देखि ५९ महिनासम्मका ३२ जना बालबालिकाहरुलाई समेत पूर्ण खोपको दायरामा ल्याईएको उहाँले बताउनुभयो । १५ महिना भित्रका शुन्य डोज लगाएका ६ जना र ड्रप आउट ५ जना तथा २४ देखि ५९ महिनासम्मका शुन्य डोज लगाएका १ जना र ड्रप आउट ३२ जनालाई पूर्ण खोपको दायरामा ल्याएर घोषणा गरिएको रिमालले बताउनुभयो ।
नेपाललाई स्वास्थ्य क्षेत्रमा सबल बनाउन र बालबालिकालाई क्षयरोग, पोलियो, दादुरा–रुबेला, निमोनिया जस्ता १३ वटा रोगहरूबाट जोगाउन सरकारले राष्ट्रिय अभियानकै रुपमा यो कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रम अन्तरगत एक पटक पनि खोप नलगाएका बालबालिकाहरूको पहिचान गरी खोपको दायरामा ल्याउने र खोप लगाउन सुरु गरेर बिचमै (ड्रपआउट) छोड्ने बालबालिकाहरूलाई खोजेर सबै मात्रा पूरा गराईन्छ । यसअघि जिल्लाका १० वटै स्थानीय तहहरुलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो ।
सो क्रममा मन्त्री थापाले विस्तारित खोप कार्यक्रमकै कारण देशमा बाल मृत्युदर उल्लेख्य रूपमा घटेको बताउनुभयो । खोपको महत्त्व कति छ भन्ने कुरा कोभिड–१९ को महामारीमा भ्याक्सिन आएपछि मात्रै कोरोना नियन्त्रण भएको तथ्यले पनि पुष्टि गर्छ । उहाँले भन्नुभयो । मन्त्री थापाले पूर्ण खोप सुनिश्चितता कार्यमा खटिने महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, पालिकाका स्वास्थ्य शाखा प्रमुख र जनस्वास्थ्य कार्यालयको प्रशंसा गर्नुहुँदै प्रदेशका १३ वटै जिल्लामा जिल्ला तहको खोप सुनिश्चितता घोषणापछि चाँडै नै प्रदेश स्तरकै पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम गरिने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here