बैंक तथा वित्तीय संस्थामा बढ्दो सुरक्षा चुनौतीका विषयमा छलफल

0
3

मकवानपुर, ९ असार । बैंक तथा वित्तीय क्षेत्रको बढ्दो सुरक्षा चुनौतीका विषयमा मंगलबार हेटौंडामा छलफल तथा अन्तरक्रिया भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा जिल्ला स्थित बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुसंग बढ्दो सुरक्षा चुनौतीका विषयमा छलफल तथा अन्तरकृया भएको हो ।

बढ्दो डिजिटल ठगी र सुरक्षा जोखिमलाई न्यूनिकरण गर्दै सुरक्षित बैंकिङ प्रणाली विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रमा देखिएका वर्तमान सुरक्षा चुनौतीहरूबारे छलफल गरिएको थियो । छलफलमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले डिजिटल ठगीका नयाँ स्वरुप ओटीपी, क्यूआर कोड, मोबाइल तथा इन्टरनेट बैंकिङको दुरुपयोग गरी भइरहेका ठगीका घटनाहरू आईरहेको भन्दै यस विषयमा बैंकका प्रतिनिधिहरुलाई सचेत गराउनुभयो । यस्तै उहाँले अहिले नक्कली केवाईसी अपडेट, लटरी, आकर्षक रोजगारीको अवसर र ऋण स्वीकृतिको नाममा सर्वसाधारण ठगिने प्रवृत्ति बढेको भन्दै यस विषयमा बै.कको तयारी र समन्वयका विषयमा पनि जानकारी लिनुभएको थियो ।
उहाँले यस्ता घटनाहरु बढ्दै गएको र प्रशासनमा यस्ता गुनासाहरु आउने क्रम बढेको प्रति चिन्ता व्यक्त गर्नुहुँदै क्यूआर पेमेन्ट फ्रड, एटीएम स्किमिङ, एआई तथा डिपफेकको जोखिम र कनेक्ट आईपीएसको सुरक्षा जस्ता विषयहरूमा ध्यान दिनुपर्ने औंल्याउनुभयो । यस्तै उहाँले म्युल एकाउन्टको पहिचान, शंकास्पद खाताको निगरानी र आपतकालीन अवस्थामा बैंकको सुरक्षा योजना अनिवार्य हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामबहादुर खत्रीले जिल्ला प्रहरी कार्यालयमा पनि विभिन्न किसिमका स्क्याम र बैंकिङ्ग कसुरका पिडितहरूकाे समस्याहरु आउने गरेको भन्दै यस्ता समस्या समाधानका लागि सबैको सहकार्य हुनुपर्ने बताउनुभयो । सुरक्षित बैंकिङ वातावरण निर्माण गर्न बैंक, ग्राहक र नियामक निकायको साझा जिम्मेवारी रहने भन्दै उहाँले बैंकिङ क्षेत्रमा सुरक्षा र सतर्कता अपनाउन आग्रह गर्नुभयो । कार्यक्रममा सुरक्षा निकायको भूमिका, कर्मचारीको आचरण र नैतिकताका साथै बैंकको भौतिक सुरक्षाको विषयमा पनि छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here