सुदूरपश्चिममा ३७ अर्ब ७० करोड रुपैयाँ बराबरको बजेट पेस

0
2

हेटाैंडा, असार २ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले गएराति प्रदेश सभामा आउँदो आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभयो ।
सरकारले ल्याएको यो बजेट चालु आर्थिक वर्ष २०८२÷८३ को तुलनामा झण्डै ४ अर्ब २० करोड रुपैयाँले धेरै हो । सत्ता साझेदार दलहरूबिच कुरा नमिल्दा हिजो दिनभर अन्योलमा परेको बजेट सहमति जुटेपछि मध्य राति मात्रै संसद्मा पेस गरिएको थियो । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट एक अर्ब ७२ करोड, सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख, ६६ हजार अनुमान गरिएको छ ।
यस्तै, सङ्घीय रोयल्टीबापत सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान नौ खर्ब छ करोड ३३ लाख, चालु आर्थिक वर्षको विनियोजनबाट बचत हुने नौ अर्ब ६२ करोड, सशर्त अनुदान ६ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदान ३८ करोड ३८ लाख र विशेष अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री धामीले जानकारी दिनुभयो ।
प्रस्तुत बजेटमा चालु र पुँजीगततर्फ के–कति बजेट विनियोजन गरिएको भन्नेबारे मन्त्री धामीले उल्लेख गर्नुभएन । प्रतिपक्षी दलका सदस्यको बहिष्कारकाबीच सरकारले बैठकमा बजेट सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको बजेट ३३ अर्ब ४७ करोड ६० लाख बराबर रहेको थियो । असार १ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार हिजो सबै ७ प्रदेशले बजेट पेस गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here