हेटौंडा, जेठ २३ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५, स्थित हेटौंडा सिटि कलेजले ४० जना विद्यार्थीलाई स्नातक तहमा निःशुल्क अध्यापन गराउने भएको छ । कलेजले चालु आर्थिक वर्षबाट चार वर्षे स्नातक तह बीबीएस कार्यक्रममा ४० जनालाई निःशुल्क अध्यापन गराउने भएको हो ।

उच्च शिक्षालाई सबैका लागि सहज, पँहुचयोग्य र समावेशी बनाउने उद्देश्यका साथ कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत यो कार्यक्रम सुरु गर्न लागेको कलेजका प्रमुख प्रशासकिय अधिकृत सुमन्त सिलवालले बताउनुभयो । उहाँका अनुसार आर्थिक, सामाजिक वा अन्य विविध उच्च शिक्षाबाट वञ्चित हुनसक्ने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम संचालन गर्न लागिएको हो ।
कार्यक्रम अन्तरगत आवेदन फारम बुझाउने पहिलो ४० जना विद्यार्थीले यो अवसर प्राप्त गरिने उहाँले बताउनुभयो । छनोट प्रक्रिया तथा आवश्यक सर्तहरु सम्बन्धी जानकारी भने, कलेज प्रशासनबाट सार्वजानीक गरिने भन्दै उहाँले उच्च शिक्षाको पहुँच विस्तार, दक्ष जनशक्ति उत्पादन तथा समाजमा सकारात्मक परिर्वतन ल्याउनु नै यस कार्यक्रमो मुख्य उदेश्य रहेको उहाँले जानकारी दिनुभयो ।
कलेजका प्राचार्य श्री बहादुर कार्कीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समाजप्रती थप उत्तरदायि र योगदानमुखी भुमिका निर्वाह गर्ने उदद्देश्यका साथ संचालनमा ल्याउन लागिएको यस कार्यक्रम अन्तर्गत छनोट हुने विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयलाई बुझाउनुपर्ने रजिष्ट्रेशन फारम र परिक्षा फारम बहेकका कुनैपनि शुल्क तिर्नुनपर्ने बताउनु भयो । साथै उहाँले यस कार्यक्रम मार्फत अभ्ययन गर्ने विद्यार्थीहरुलाई व्यवसायिक शिप रोजगारीको अवसरका लागि पनि कलेजले सहयोग गर्ने बताउनुभयो ।
कलेजकी संस्थापक रमिता पाण्डेले यस कार्यक्रममा सहभागि भई उच्च शिक्षा प्राप्त गर्ने अवसरको सदुपयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । २०७० सालमा स्थापना भएको हेटौंडा कलेजले स्नातक तहमा बीबीएस, बीएससी, सिएसआइटी र बिसिए र कक्षा ११ र १२ मा विज्ञान/व्यवस्थापन, होटल म्यानेजमेन्ट र कानून विषय अध्यापन गराउँदै आएको छ ।






