कुलेखानी–फर्पिङ र थानकोट–चित्लाङ खण्डमा यात्रा गर्दा वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

0
3

मकवानपुर,जेष्ठ १७ । मकवानपुरका विभिन्न मुख्य सडक खण्डहरूमा निर्माण तथा स्तरोन्नतिको काम तीव्र रूपमा अगाडि बढिरहेका कारण जिल्ला प्रहरी कार्यालय मकवानपुरले यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। सडक मर्मत तथा सुधार कार्यका कारण केही स्थानमा आवागमन प्रभावित हुने र केही सडकखण्ड निश्चित अवधिसम्म पूर्ण रूपमा बन्द रहने जनाइएको छ।प्रहरीका अनुसार हाल जिल्लाका दुई महत्वपूर्ण सडकखण्डमा निर्माण कार्य जारी रहेको छ।
इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत महालक्ष्मी खोला क्षेत्रमा जेठ १५ गतेदेखि करिब १०० मिटर सडक ढलानको काम सुरु भएको छ। निर्माण कार्य सम्पन्न नहुन्जेल, अनुमानित एक महिनासम्म उक्त सडकखण्डमा सवारी आवागमन प्रभावित हुने प्रहरीले जनाएको छ। यस अवधिमा कुलेखानी–फर्पिङ मार्ग प्रयोग गर्ने सवारीसाधनलाई कुलेखानी–सिस्नेरी–दक्षिणकाली वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइएको छ।
यस्तै, थानकोट–चित्लाङ सडकखण्डको पानी घट्टदेखि चित्लाङ बजारसम्म सडक सुधार तथा स्तरोन्नतिको काम भइरहेकाले उक्त सडक जेठ १७ गतेदेखि जेठ २९ गतेसम्म पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ। यस मार्गबाट यात्रा गर्ने सवारीसाधनलाई भैँसे–पालुङ–नौबिसे हुँदै त्रिभुवन राजपथ प्रयोग गर्न अनुरोध गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here