हेटौंडा–४ नम्बर वडाको पहिलो प्राथमिकता शिक्षा – अध्यक्ष सिग्देल

वडाको ६ महिनाको शैक्षिक कार्ययोजना सार्वजनिक

0
2

हेटौंडा, २८ कात्तिक हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाले विकासका सबै सूचीमध्ये ‘शिक्षा’लाई पहिलो प्राथमिकता दिँदै शैक्षिक गुणस्तर सुधारमा केन्द्रित ६ महिने कार्ययोजना सार्वजनिक गरेको छ । वडामा आयोजित शैक्षिक गुणस्तर सुधार समितिको बैठकलाई सम्बोधन गर्दै वडा अध्यक्ष नवीन सिग्देलले हेटौंडा–४ लाई राजधानी बाग्मती प्रदेशको महत्वपूर्ण शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित शिक्षा क्षेत्रकैलागि ठूलो मात्रामा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
बैठकले मंसिरदेखि बैशाखसम्म लागू हुने गरी विस्तृत कार्ययोजना निर्माण गरेको छ । कार्ययोजनामा शिक्षक तालिम तथा उत्प्रेरणा कार्यक्रम, वडास्तरीय बृहत् शैक्षिक तथा सांस्कृतिक मेला, बृहत् खेलकुद प्रतियोगिता, उत्कृष्ट शिक्षक–विद्यार्थी सम्मान तथा पुरस्कार वितरण, विद्यार्थी उद्यमशीलता कार्यक्रम तथा विद्यालयमा विनियोजित पूर्वाधार निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने उल्लेख छ ।
बैठकमा हेटौंडा–४ का सामुदायिक विद्यालय भुटनदेवी मावि, आधुनिक राष्ट्रिय मावि, श्रमिक मावि र संस्थागत विद्यालय नवनोदय ई.बोर्डिङ स्कुल, ब्रह्मदीक एकेडेमी, सत्यम् जेभियर्स, आमसाई ई.बोर्डिङ स्कुल तथा रोज एकेडेमीका प्रिन्सिपल तथा प्रतिनिधिहरूको सहभागिता थियो ।
समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा बसेको बैठकले भुटनदेवी माविका प्रअ माधवप्रसाद दाहालको अनिवार्य अवकाशपछि रिक्त रहेको कोषाध्यक्ष पदमा सोही विद्यालयका निमित्त प्रधानाध्यापक सूर्यप्रसाद घिमीरेलाई मनोनयन गर्ने निर्णय गरेको समितिका सचिव रामसागर गुरागाईंले जानकारी दिनुभयो । बैठकले प्रअ दाहालले समितिमा पु–याउनु भएको योगदानप्रति आभार व्यक्त गर्नुका साथै नव–नियुक्त कोषाध्यक्ष घिमीरेलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । बैठकमा वडा सदस्य गीता त्रिपाठीको समेत उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here