काेहि नभएका नागरिकको लागि प्रदेश सरकार छः स्वास्थ्यमन्त्री थापा

0
2

हेटाैंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आफ्ना कोही नभएका नागरिकको लागि प्रदेश सरकार भएको बताउनुभएको छ । शनिबार आफ्नो जन्मदिनको अवसरमा हेटौँडाको मानव सेवा आश्रममा रहेका अनाथ, असहाय र परिवार विहीनको सेवा गर्न पुग्नु भएका थापाले राज्य सबैको संरक्षक भएको बताउनुभयो । ‘जसको कोही छैन, त्यसको लागि हामी छौँ, प्रदेश सरकार छ, बागमती प्रदेश सरकारले त्यसको लागि व्यवस्थापन गर्दै छ’, उहाँले भन्नुभयो ।

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यस वर्ष बजेट बनाउँदा आश्रममा आश्रित रहेकाको स्वास्थ्य बिमाको रकम सरकाले नै तिरिदिने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँले धर्म गर्न मन्दिरमा गइरहनु नपर्ने बताउँदै सबैभन्दा ठुलो धर्म मानव सेवा भएको बताउनुभयो । ‘भगवानको मन्दिरमा गएर दर्शन गर्दैमा हामीलाई धर्म हुने होइन, मानवको सेवा गर्न सक्यो भने सबैभन्दा ठुलो र पुण्य काम यही हो’, उहाँले भन्नुभयो । मानव सेवा आश्रमले मानवीय काम गरेको भन्दै उहाँले प्रशंसा गर्नुभयो । आश्रितहरूको खानपान, आवास, स्वास्थ्य, सरसफाइ जस्ता काम गरेर मानव सेवा आश्रमले ईश्वरीय काम गरेको उहाँले बताउनुभयो । उहाँले सेवा आश्रमलाई व्यवस्थित गर्नको लागि कम्तीमा सरकारको तर्फबाट खानाको व्यवस्थापनका लागि सेवा दिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो । मन्त्रिपरिषद् बैठकले सो विषयमा निर्णय गर्ने उहाँले बताउनुभयो ।
मानव सेवा आश्रमका बिरामीलाई वाग्मती प्रदेशको हेटौँडा अस्पतालले निःशुल्क उपचार गराउने थापाले जानकारी गराउनुभयो । उहाँले हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत सञ्चालन भएपछि स्वास्थ्य सेवामा व्यापक सुधार आएको पनि बताउनुभयो । हेटौँडा अस्पतालको नामाकरण कहिल्यै पनि परिवर्तन नहुने बताउँदै उहाँले प्रदेश सरकारले कुनै पनि इतिहास मर्न नदिने स्पष्ट पार्नुभयो । त्यसैले विरोधका लागि विरोध नगर्न थापाले आग्रह गर्नुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा अघि बढाएको बताउँदै त्यसको प्राक्टिकल गर्नको लागि प्रतिष्ठान मार्फत हेटौँडा अस्पताल सञ्चालन गरिएको थापाले जानकारी दिनुभयो । ‘आज ३ सय बेडमा त्यो हेटौँडा अस्पताल सुरु भएको छ, अस्पतालमा अहिले दैनिक १३/१४ सय बिरामीले ओपिडी सेवा लिइरहनु भएको छ, मकवानपुरवासीले मात्र होइन आज मधेस प्रदेशका ४ जिल्लाले समेत सेवा लिइरहनुभएको छ’, उहाँले भन्नुभयो ।
उहाँले सोही प्रतिष्ठान मार्फत हेटौँडामा एमडीको पढाइ सुरु भएको पनि जानकारी दिनुभयो । ‘८ वटा कोटा प्राप्त भएर एमडी पढाइ सुरु भएको छ, एमबिबिएसको ५० वटा कोटा प्राप्त भएर पढाइ सुरु हुँदै छ, केही महिना पछाडि हेटौँडा अस्पतालमा अब एमबिबिएसको पनि पढाइ सुरु हुँदै छ, त्यसै गरी अहिले ब्याचलर लेबलमा विभिन्न विषयमा ३ सय ५८ जनाको पढाइ सुरु भइरहेको छ, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौँडा अस्पताल नजोडिएको भए यो अवस्था हुने थिएन’, उहाँले भन्नुभयो ।
कुनै बेला हेटौँडावासीलाई अर्कै नामले सम्बोधन गर्ने गरिएको स्मरण गर्दै थापाले अबको केही वर्ष पछि हेटौँडा डाक्टरहरू बस्ने सहर बन्ने दाबी गर्नुभयो । ‘यहाँ त डाक्टरहरूको पढाइहुन्छ भनेर त्यसको नामाकरण नै परिवर्तन हुनेछ’, उहाँले भन्नुभयो । उहाँले सबै मिलेर हेटौँडा अस्पताललाई ५ सय बेडको अस्पताल बनाइने बताउनुभयो । ‘यदि मकवानपुरवासीको सबैको साथ र सहयोग रह्यो भने हेटौडा अस्पताल अबको दुई चार वर्ष पछाडि काठमाडौंको टिचिङ अस्पतालको दाँजोमा पुग्ने छ’, उहाँले भन्नुभयो । उहाँले जन्मदिनकाे अवसरमा आश्रमका आश्रितलाई बिहानकाे खाना खुवाउनु भएकाे थियाे । उहाँले मानवसेवा आश्रममा आश्रितसँग सँगै खाना खानुभएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here