हेटौँडा, जेठ १७ । ५४औँ विश्व वातावरण दिवसको अवसरमा आइतबार हेटौँडा–८ मा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा–८ को आयोजनामा सरसफाई कार्यक्रम भएको हो ।

टोल विकास संस्था वडा समन्वय समितिका वडा अध्यक्ष कुमार केसीको नेतृत्वमा सञ्चालन भएको कार्यक्रममा वडाभित्रका सम्पूर्ण टोल विकास संस्थालगायत स्थानीय नागरिकको सहभागितामा सहभागिता थियो । वातावरण संरक्षण र आफ्नो टोल आफैँ सफा राखौँ भन्ने उद्देश्यका साथ सुरु भएको यस सरसफाइ अभियानमा वडाभित्रका विभिन्न टोल विकास संस्थाहरूबाट झन्डै ७०० जनाको सहभागिता रहेको अध्यक्ष केसीले बताउनुभयो । सहभागिहरुले वडाका विभिन्न धार्मिक स्थल, शैक्षिक संस्थालगायत सार्वजनिक स्थलहरूमा सरसफाई गरेको उहाँले बताउनुभयो ।

यसैगरी दिवशकै अवसरमा भोलि जेठ १८ गते ’फोहोर टिप्ने प्रतियोगिता’ हुने भएको छ । सरसफाइ अभियानलाई थप प्रभावकारी र रोचक बनाउन प्रतियोगिता आयोजना गर्न लागिएको केसीले जानकारी दिनुभयो । प्रतियोगितामा वडाभित्रका १९ वटा टोल विकास संस्थाहरूबीच “टोल स्तरीय फोहोर टिप्ने प्रतियोगिता“ हुने उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट हुने टोल विकास संस्थाहरूलाई पुरस्कृत समेत गरिने जनाइएको छ ।





