Wednesday, October 23, 2024

१८ खर्बको बजेट बोक्न २५ सयको झोला

ताजा / भरखरै प्राप्त

रौतहट १६ जेठ। मंगलबार आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्न संघीय संसदको संयुक्त सदनमा पुगेका अर्थमन्त्री वर्षमान पुनको हातमा अल्लो र ढाकाले बनेको झोला थियो। अर्थमन्त्री पुनले त्यही झोलामा बजेट पुस्तिका बोकेका थिए।

बजेट भाषण सुरू हुनुअघि नै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा मन्त्री पुनले बोकेको झोलाको चर्चा भयो।

किनभने, यसअघिका अर्थमन्त्रीहरूले छालाको कालो अथवा गाढा खैरो ब्रिफकेस (झोला) मा बजेट पुस्तिका बोक्थे। उक्त झोला रातो रिबनले बाँधिन्थ्यो। धेरै वर्षसम्म यस्तै झोला चल्तीमा आएकाले बजेटको सांकेतिक तस्बिर नै यही झोला बनेको थियो।

यसपटक भने अर्थमन्त्रीले रातो रिबन बाँधिएको अल्लो र ढाकाले बनेको सेतो-बुट्टेदार झोला बोके।

अर्थमन्त्रीको सचिवालयका अनुसार नेपाली उत्पादनलाई प्रोत्साहन दिने उद्देश्यले नेपालमै उत्पादित कटन, अल्लो र ढाकाको झोला प्रयोगमा ल्याइएको हो।

बजेट पुस्तिका बोक्न प्रयोग भएको यो झोला अर्थ मन्त्रालयले मंगलबार नै ठमेलको चिःबहालस्थित युनिक लेदर्स ह्यान्डिक्राफ्ट प्रालिबाट किनेको हो।

मन्त्रालयबाट स्वकीय सचिवालयका स्वकीय अधिकृत जीवनप्रवेश रोक्का मगर आफ्नो पसलमा झोला किन्न आएको युनिक लेदर्सका सञ्चालक नवराज अधिकारीले बताए। त्यो बेला नवराजकी श्रीमती संगीता पसलमा थिइन्।

करिब साढे ११ बजेतिर झोला खोज्दै आउनुभएको थियो। थुप्रै पसल घुमेपछि हाम्रोमा आइपुग्नुभएको रहेछ,’ उनले श्रीमतीका भनाइ उद्धृत गर्दै भने, ‘त्यो झोला देखाएपछि मन पराएर किन्नुभएछ।’

सो झोला दुई हजार पाँच सय रूपैयाँमा बेचेको उनले जानकारी दिए।

जीवनले संगीतालाई आफू अर्थ मन्त्रालयबाट आएकोसम्म भन्न भ्याएका थिए। तर बजेट पुस्तिका बोक्न किन्न लागेको होला भन्ने अनुमानसम्म थिएन।

‘पछि बजेट भाषण गर्न जाँदा अर्थमन्त्रीको हातमा झोला देखेपछि बल्ल थाहा पायौं,’ नवराजले भने, ‘त्यो देखेर निकै खुसी लाग्यो।’

युनिक लेदर्सले विगत बीस वर्षदेखि अल्लो, कटन र ढाका मिश्रित विभिन्न सामग्रीहरू बनाउँदै आएको छ।

लामो समयदेखि नेपालमा उत्पादित सामग्री बनाइरहे पनि यसपटक गौरव महसुस भएको नवराज बताउँछन्।

उनले भने, ‘सरकारको तर्फबाटै नेपाली उत्पादनलाई प्रोत्साहन दिएको देख्दा हामी सबै व्यवसायी खुसी छौं।’

अर्थमन्त्री पुनका प्रेस सल्लाहकार दयानिधि भट्टका अनुसार नेपालमा उत्पादित झोलामा बजेट पुस्तिका बोक्ने सोच अर्थमन्त्री पुनकै हो।

सोमबार बजेट लेखन टोली, राजस्व सचिव, अर्थ सचिव लगायतको उपस्थितिमा बजेट प्रस्तुतीको काम भइरहेको थियो।

त्यो बेला निकै दौडधुप भएको भट्टले बताए। त्यत्तिकैमा बजेट पुस्तिका बोक्ने ब्रिफकेस पुरानै प्रयोग हुन्छ कि नयाँ किनिन्छ भन्ने जिज्ञासा उठ्यो। प्रत्येक वर्ष नयाँ किनिन्छ भन्ने कुरा आयो।

‘यसपछि मन्त्रीज्यूले उसो भए नेपालमै उत्पादित झोला किनौं भन्नुभयो,’ भट्टले भने।

सोमबारै मन्त्री पुनलाई केही ब्रिफकेस र झोला देखाइयो। उनलाई चित्त बुझेन। त्यसपछि मंगलबार बिहान ११ बजेतिर जीवनलाई किनेर ल्याउन भने।

‘मलाई मन्त्रीज्यूले अल्लो र ढाकाको झोला किनेर ल्याउन भन्नुभयो। ठमेल गएर किनेँ। मन्त्रालय पुग्दा साढे १ बजेको थियो,’ पुनसँग विगत सात वर्षदेखि सँगै काम गरिरहेका जीवनले भने।

जीवनले झोला किन्न झन्डै एक दर्जन बढी पसल चहारेको पनि बताए। मंगलबार मन्त्री पुनको हातमा देखिएको झोला पसलमा देखेपछि बल्ल चित्त बुझ्यो। उनले पसलबाटै मन्त्रीलाई भिडिओ कल पनि गरेका थिए।

मन्त्री पुनले आफूलाई मनपरेको भने। त्यसपछि जीवनले एउटा रातो र अर्को खरानी रङको ढाका मिसिएको अल्लोका दुइटा झोला किने। त्यसमध्ये मन्त्री पुनले रातो ढाका भएको बोके।

स्वकीय सचिवालयका अनुसार यसअघि बजेट पुस्तिका बोक्ने ब्रिफकेसको भाउ १० हजारदेखि १५ हजार रूपैयाँ पर्थ्यो। यसपटक नेपालमै उत्पादित झोला सस्तो परेको छ।

‘मन्त्रीज्यूको सानो पहलबाट निकै सकारात्मक प्रतिक्रिया पाएका छौं,’ प्रेस सल्लाहकार भट्टले भने, ‘आलोचना पनि आउँछ भन्ने थियो तर सकारात्मक प्रतिक्रिया भएकाले मन्त्रीज्यू उत्साहित हुनुहुन्छ।’

आगामी दिनमा नेपाली उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्नेमा सरकार सकारात्मक रहेको पनि उनले बताए। 

spot_img

लोकप्रिय

Related Articles