रौतहट १६ जेठ। घामबाट बच्न सनस्क्रिन लगाउन चिकित्सकहरुले सुझाउने गर्छन् । सूर्यको हानिकारक विकिरणबाट छालालाई जोगाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । घामबाट बच्न दैनिकरुपमा नै सनस्क्रिन लगाउन चिकित्सकहरु सुझाउँछन् ।
सनस्क्रिनका विविध पक्षमा रहेर छाला, यौन तथा सौन्दय रोग विशेषज्ञ डा. मोहन भुसालसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :
सनस्क्रिन क्रिम किन लगाउन जरुरी छ ?
सनस्क्रिन सूर्यको विकिरणबाट बचाउने सुरक्षा कवच जस्तै हो । जसरी अनुहारमा भएको फोहोर सफा गर्न बिहान र बेलुका पानीको आवश्यक पर्छ । त्यसरी नै हरेक दिन अनुहारको छाला घामबाट जोगाउन मुख धोएर मोइस्चराइजर गरेपछि सनस्क्रिन लगाउनैपर्छ । यसले क्षणिक मात्र नभई दीर्घकालीनरुपमा छालालाई सुरक्षा दिन्छ ।
सनस्क्रिनले छालामा कसरी काम गर्छ ?
सामान्यतया सनस्क्रिन दुई किसिमको हुन्छ- भौतिक र रासायनिक । यी दुवैको काम भनेको सूर्यको हानिकारक किरण यूभी, यूभीए र यूभीबीलाई छालामा जान रोक्नु हो ।
सनस्क्रिन अनिवार्य लगाउनैपर्छ भन्ने हुन्छ ?
सनस्क्रिन नलगाएर ज्यान नै जान्छ भन्ने त होइन । तर अनुहारको छालाबारे संवेदनशील हुनुहुन्छ भने सम्भव भएसम्म अनिवार्य लगाउनुपर्छ ।
सूर्यबाट यूभीए, यूभीबी र यूभीसी लगायत विभिन्न हानिकारक किरण आउने गर्छ । जसमध्ये पराबैजनी किरण जसमा यूभीए र यूभीबीले छालालाई नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न घामको सम्पर्कमा आउने अनुहार, घाँटी, हातखुट्टामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।
छालालाई सूर्यको पराबैजनी किरणबाट जोगाउन, बुढयौलीका लक्षण कम गर्न, दाग धब्बाहरु रोक्न दैनिक लगाउनुपर्छ । सनस्क्रिनले छालाका क्यान्सर हुने सम्भावनालाई पनि कम गर्ने अध्ययनहरुले देखाएको समेत छन् ।
भौतिकमा जिंक अक्साइड र टिटानियम डाइअक्साइड जस्ता तत्व हुन्छ । जसले घामबाट आएका विकिरणलाई प्रतिविम्बित गरी छालाको सतहबाट छिर्न दिंदैन । यसले छालामा दाग धब्बालाई कम पनि गर्छ ।
त्यस्तै रासायनिकले घामबाट आउने विकिरणलाई छालाको सतहमाथि नै सोस्ने गर्छ । जसले गर्दा विकिरण छालाभित्र छिर्न पाउँदैन । केमिकल सनस्क्रिनमा अक्सिबेनजोन, अभोबेनजोन, अक्टिसिलेट र होमोसालेट, अक्सिटोसिजेट जस्ता तत्व हुन्छन् । यी तत्वहरुको काम भनेको हानिकारण विकिरण सोस्नु हो । र, यो लगाउँदा च्यापच्याप लाग्ने पनि हुँदैन ।
सनस्क्रिन लगाउने र नलगाउनेबीच के–कस्ता भिन्नता देखिन्छन् ?
सनस्क्रिन लगाउने र नलगाउनेबीच धेरै अन्तर देखिन्छ । जसले लगाउँदैनन्, उनीहरुको अनुहारमा गहिरो चाउरीपना, दाग, धब्बा र उमेरभन्दा छिटो बूढो देखिन्छ ।
सनस्क्रिन लगाउनेहरुको अनुहारमा चमक हुने, छाला कसिलो हुने र छाला उमेरभन्दा दश वर्ष कम देखिन्छ ।
पहिलेको कुरा गर्ने हो भने यस्ता उत्पादनहरुको आविष्कार भएका थिएनन् । त्यतिबेलाका मानिसहरुले यस्ता उत्पादन नलगाए पनि चमक देखिन्थ्यो । यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?
तुलनात्मकरुपमा औसतमा हेर्ने हो भने पहिलेको ६० वर्षको मानिस र अहिले सनस्क्रिन लगाएका ६० वर्षको मानिसको अनुहारको स्वरुप नै फरक छ । सनस्क्रिन नलाउने पहिलेका मानिस ५५ देखि ६० वर्षमा वृद्ध देखिन्थे । अहिले छालाको स्याहार गर्ने र सनस्क्रिन लगाउनेहरु ६० वर्षमा कम उमेरको देखिन्छ । यो अध्धयनहरुले समेत प्रमाणित गरेको सत्य हो ।
अर्को कुरा, पहिलेका मानिस तुलनात्मकरुपमा स्वस्थ हुन्थे । यसमा कुनै शंका छैन । कारण भनेको जंकफुडको उपलब्धता थिएन । शारीरिक श्रम गर्ने, हरियाली वातावरणमा बस्ने पोषिलो खानपान खान्थे । जसले भित्री बुढयौलीको लक्षण कम गर्थ्यो । तर बाहिरी लक्षणलाई रोक्न भने सक्थेन । अत्याधिक घाममा काम गर्ने र अनुहारको सुरक्षाका लागि केही नलगाउँदा गहिरो चाउरीपना हुनुका साथै ६० वर्षमा धेरै बूढो देखिन्थ्यो ।
सनस्क्रिन अनिवार्य लगाउनुपर्छ भनिन्छ । यस्तोमा बालबालिका र वृद्धको लागि सनस्क्रिन जरुरी हुन्छ कि हुँदैन ?
सनस्क्रिन लगाउनका लागि कुनै उमेरहद छैन । ६ महिनाको बच्चादेखि वृद्धसम्मले सनस्क्रिन लगाउन सक्छन् । जति छिटो लगायो त्यति बुढयौलीको प्रक्रियामा ढिलाइ समेत गर्ने हुँदा २० वर्ष पुग्नुअगावै सनस्क्रिन लगाउनु उपयुक्त हुन्छ । तर ३० वर्षको उमेरमा भने सनस्क्रिन अनिवार्य लगाउनैपर्छ ।
किनकि ३० वर्षको उमेरको हाराहारीमा बुढयौलीको प्रक्रिया बिस्तारै सुरु हुन्छ । उमेर बढेसँगै बिस्तारै छालामा खाल्टो देखिने, हल्का चाउरीपन देखिने, हड्डीहरु खुम्चिंदै जान्छ । जसकारण छालाहरु झोलिंदै जाने र छालाको रङमा परिवर्तन आउने हुँदै जान्छ ।
यो प्रक्रियालाई सुस्त बनाउन यो उमेरमा सनस्क्रिन अनिवार्य लगाउनैपर्छ । त्यति मात्र होइन, यो उमेर नै बढी बाहिरी आवतजावत हुने हुँदा छालाको समस्याको जोखिममा पर्ने हुँदा सनस्क्रिन लगाउनैपर्छ ।
केही बलिउड, कलिउडमा जमेका सेलिब्रेटी छन्, जो सनस्क्रिन जस्ता कुनै उत्पादक प्रयोग नगरेपनि अनुहारमा चमक आएको बताउँछन् । यसको कारण के हुनसक्ला ?
सनस्क्रिनको प्रयोग नगर्ने सेलिब्रेटी कमै मात्रामा हुनसक्छन् । उनीहरुको अनुहारको चमकको रहस्य भनेको कुनै विज्ञको सल्लाहमा एन्टिअक्सिडेन्ट खानेकुरा प्रशस्त खाने, शारीरिक व्यायाम गर्ने, अन्य सप्लिमेन्ट खाएर, बेलाबखतमा डिटक्स गरेर पनि हुनसक्छ ।
कोहीको भने वंशाणुगत कारणले पनि उमेर ढल्किंदा पनि बुढ्यौलीका लक्षण त्यति देखिएको हुँदैन । कसैले मेरो अनुहार केही नलगाउँदा पनि राम्रो छ भनेर लगाउँदैनन् भने उनीहरुमा तत्काल समस्या नदेखिएपनि कालान्तरमा बुढयौलीको लक्षण झन् बढी र छिटो देखाउँछ ।
सनस्क्रिनमा हुने एसपीएफले के अर्थ राख्छ ?
सनस्क्रिनमा हुने एसपीएफको पूरा अर्थ हो, सन प्रोटेक्सन फ्याक्टर । सनस्क्रिनले दिने विकिरण विरुद्धको सुरक्षा मापन गर्ने एकाइ जस्तै हो, एसपीएफ । जसले यूभीबीको किरणबाट बचाउँछ । यूभी विकिरणमा छाला डढाउने, छालामा क्यान्सर गराउने, अनुहार बिगार्ने तत्व हुन्छ । यस्तोमा एसपीएफको काम भनेको छालालाई यी तत्वबाट जोगाउनु हो । एसपीएफ १५, ३० र ५० गरी तीन किसिमको हुन्छ ।
एसपीएफ १५ ले ९३ प्रतिशत, एसपीएफ ३० ले ९७ प्रतिशत र एसपीएफ ९८ प्रतिशत यूबीबी किरणलाई रोक्छ । यीमध्ये तीन एसपीएफ नै लगाउँदा त्यति भिन्नता छैन । बढी घाममा बस्नुपर्ने भएमा ९७ प्रतिशत सुरक्षाका लागि एसपीएफ ५० उपयुक्त हुन्छ ।
कतिपय ठाँउमा एसपीएफ ५० भन्दा माथि भनेर मनलाग्दी नम्बर राखेर भ्रामक प्रचार गरी सनस्क्रिन बिक्री गरिएको हुन्छ ।
अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)अनुसार एसपीएफ ५० भन्दा माथिको सनस्क्रिनलाई एसपीएफ ५० प्लस भनेर लेख्ने र बेच्ने मान्यता छ । ताकि धेरैमा एसपीएफबारे भ्रम नफैलियोस् ।
तापक्रम कम भएको र बढी भएको ठाँउमा एउटै एसपीएफ भएको क्रिम लगाउन सक्छन् ?
सकिन्छ, घाम अत्याधिक लागेको ठाँउमा मात्र होइन, घाम नै नलागेको ठाँउ, जाडो र गर्मी मौसममा पनि विकिरण भइरहन्छ ।
त्यसैले चर्को घाममा एसपीएफ ३० र ५० लगाउन सकिन्छ । सनस्क्रिन भने छालाको प्रकार र छालाको अवस्थाअनुसार परीक्षण गराएर लगाउनु उचित हुन्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।
उदाहरणका लागि तराईमा बस्ने व्यक्तिको छाला चिल्लो र डण्डीफोर भएमा च्यापच्याप नहुने जेल वा लोसन भएको सनस्क्रिन लगाउन सकिन्छ । जाडोमा बस्ने व्यक्ति जसको छाला सुक्खा छ भने बाक्लो क्रिम भएको लगाउन सकिन्छ । त्यस्तै संवेदनशील छाला भएमा फिजिकल सनस्क्रिन लगाउन सकिन्छ ।
सनस्क्रिन लगाउने तरिका के छ ?
सनस्क्रिन लगाउने तरिका पनि जान्नुपर्छ । कति मात्रामा लगाउने र कुन समयमा लगाउने भन्ने जानकारी हु्नु आवश्यक छ ।
सनस्क्रिन बिहान नौ बजे र मध्यान्ह १२ बजे गरी दुईपटक लगाउनुपर्छ । किनभने घामको असर बिहान १० देखि साँझ ५ बजेसम्म बढी हुन्छ । जसको चाया, पोतो र अन्य छालाको समस्या भए बिहान ८, ११ र दिउँसो २ बजे लगाउनु आवश्यक हु्न्छ । पौडी खेल्न र ट्रेकिङ जाँदा दुई घण्टाको फरकमा लगाइरहनुपर्छ ।
एक पटकमा एक चिया चम्चा वा दुई रुपैयाँको सिक्का जति मात्रा लिएर सनस्क्रिन लिएर अनुहारको सबै भागमा थोरै थोरै राखेर लगाउनुपर्छ ।
विशेषगरी महिलाले सनस्क्रिनपछि फाउन्डेसन लगाएका हुन्छन् । यस्तोमा उनीहरुको प्रश्न हुने गर्छ, दोस्रोपटक सनस्क्रिन कसरी लगाउने ?
यस्तोमा धुलोधुवाँमा जानुपरेको छैन भने अनुहार नपखाली त्यसमाथि पुनः लगाउन सक्नुहुन्छ ।