हेटाैंडा, असार २९ । इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली चेन्नई सुपर किङ्ग्सका मुख्य प्रशिक्षक स्टेफेन फ्लेमिङ १८ वर्षपछि टोलीबाट अलग भएका छन् । चेन्नई र फ्लेमिङले आपसी सहमतिमा अलग हुने निर्णय गरेका हुन् ।
आईपीएलको पहिलो संस्करण सन् २००८ मा खेलाडीका रूपमा चेन्नईमा आबद्ध भएका स्टेफेन फ्लेमिङले २००९ मा मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाले । फ्लेमिङको प्रशिक्षणमा चेन्नईले ५ वटा आईपीएल उपाधि र २ वटा च्याम्पियन्स लिग टी–२० प्रतियोगिता जित्यो । यस्तै फ्लेमिङको नेतृत्वमा चेन्नई १२ पटक प्लेअफमा पुग्यो भने कीर्तिमानी १० पटक आईपीएलको फाइनल खेल्न सफल भयो ।
चेन्नईकी मालिक रूपा गुरुनाथले स्टेफेन फ्लेमिङले टोलीको पहिचान निर्माणमा अतुलनीय योगदान दिएको बताएकी छिन् । यस्तै फ्लेमिङले चेन्नईमा बिताएको समय आफ्नो प्रशिक्षणकालकै सबैभन्दा अविस्मरणीय अध्याय भएको उल्लेख गरेका छन् ।






