हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी सञ्चालनमा रोक

0
1

मकवानपुर, असार २९ । निरन्तर वर्षाका कारण हेटौँडा–काठमाडौं जोड्ने दुई सडकमा सवारी साधन सञ्चालनमा रोक लगाईएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिसनेरी–काठमाडौँ सडक र कान्ति लोकपथमा सवारी सञ्चालनमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै छोटो मार्ग अन्तरगतको उक्त सडक खण्डहरूमा बाढी, पहिरो तथा खोलानालाको बहाव बढेर उच्च जोखिमको अवस्था सिर्जना भएकाले यात्रुहरूको सुरक्षाका लागि यस्तो निर्णय गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्धारा जारि सूचनामा हेटौँडा–सिसनेरी–काठमाडौँ भएर गुड्ने सवारीलाई हेटौँडाको चौकीटोलमा साँझ ५ बजेदेखि भोली बिहान ५ बजेसम्म र कान्ति लोकपथ भएर जाने सवारी साधनहरूलाई हेटौँडाको चौघडामा अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको जनाईएको छ । प्रशासनले यात्रुको सुरक्षा तथा सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यातायात व्यवसायी, चालक तथा सर्वसाधारण सबैलाई तोकिएको स्थान र समयपश्चात् मात्र सवारी साधन सञ्चालन गर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै वैकल्पिक तथा सुरक्षित मार्गको प्रयोग गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here