मालपोत कार्यालय मकवानपुरद्वारा ३५ करोडभन्दा बढी राजस्व संकलन

0
2

मकवानपुर, असार २५ । भूमि प्रशासन (मालपोत) कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको ११ महिनामा ३५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि जेठ मसान्तसम्ममा कुल ३५ करोड ८२ लाख १८ हजार ८२९ रुपैयाँ राजस्व संकलन भएको हो ।
कार्यालयका सूचना अधिकारी भीम परियारका अनुसार विभिन्न भूमिसम्बन्धी लिखत रजिष्ट्रेशन, धितो बन्धक र पुँजीगत लाभकर लगायतका शीर्षकहरूबाट उक्त राजस्व संकलन भएको हो । उहाँका अनुसार जेठ महिनामा मात्रै ४ करोड ३० लाख ८६ हजार १०१ रुपैयाँ राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षमा लिखत तथा धितो बन्धकका कुल १३ हजार ११ वटा कारोबार भएकोमा जेठ महिनामा मात्र १ हजार २२३ वटा कारोबार भएको उहाँले बताउनुभयो ।
सूचना अधिकारी परियारका अनुसार जेठ महिनामा भूमि कारोबारका लिखत राजस्व तर्फ ३ करोड ९० लाख २६ हजार ३४१ रुपैयाँ संकलन भएको छ । यसमध्ये हेटौँडा (शहरी क्षेत्र) बाट ३ करोड ३६ लाख ६८ हजार ३०९ रुपैयाँ र ग्रामीण क्षेत्रका कारोबारबाट ५३ लाख ५८ हजार ३२ रुपैयाँ संकलन भएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थाहरूमा गरिने धितो बन्धक शीर्षकबाट यस महिना ४० लाख ५९ हजार ७६० रुपैयाँ राजस्व प्राप्त भएको उहाँले बताउनुभयो ।
उहँँका अनुसार यस महिनामा सबैभन्दा ठूलो हिस्सा पूँजीगत लाभकर मार्फत प्राप्त भएको छ । जेठ महिनामा मात्रै कुल २ करोड ८३ लाख ११ हजार १८८ रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ, जसमध्ये रजिष्ट्रेशनबापत २ करोड ६८ लाख ९२ हजार ७०० र मोठबाट १४ लाख १८ हजार ४८८ रुपैयाँ संकलन भएको छ । यसबाहेक अन्य सेवा शुल्क अन्तर्गत रोक्का दस्तुरबापत २ हजार र न्यायिक दस्तुरबापत ५ लाख २० हजार ४३९ रुपैयाँ संकलन भएको छ ।
यस्तै कार्यालयले लक्षित वर्गका लागि राज्यले तोकेको राजस्व छुट सुविधालाई पनि प्रभावकारी रूपमा कार्यान्वयन गरेको उहाँले बताउनुभयो । जेठ महिनामा मात्रै महिलाहरूका नाममा पारित भएका लिखतहरूमा कुल ७० लाख २२ हजार ५२ रुपैयाँ राजस्व छुट दिइएको छ । योसँगै चालु आर्थिक वर्षको यो अवधिमा कुल ५ करोड २३ लाख ७४१ रुपैयाँ छुट प्रदान गरिसकिएको उहँँले बताउनुभयो । जेठ महिनामा जग्गा कारोबार गर्ने कुल ६७४ जना जग्गाधनीहरू थपिएका छन्, जसमा ४१२ महिला, २३२ पुरुष र ३० जनाको संयुक्त स्वामित्व रहेको परियारले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here