हेटौंडा, असार १८ । बागमती प्रदेशमा कृषि उत्पादनकालागि अत्यावश्यक मानिने रासायनिक मलको आपूर्ति मागको तुलनामा निकै कम भएको पाईएको छ । प्रदेशको कृषि तथा पशुपन्छि विकास मन्त्रालयका अनुसार मागको तुलनामा हालसम्म करिब २५ प्रतिशत मात्र मल आपूर्ति भएको छ ।
मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार चालु आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रदेशका १३ जल्लामा कुल २ लाख ७६ हजार ५७५ मेट्रिक टन रासायनिक मलको माग रहेको थियो । तर, हालसम्म कुल ७१ हजार ६६ मेट्रिक टन अर्थात २५.७ प्रतिशत मात्र आपूर्ति भएको छ । उहाँका अनुसार हालसम्म युरिया मल १ लाख ५१ हजार ५१५ मेट्रिक टन माग रहेकोमा ४४ हजार २७, डि.ए.पी. ८३ हजार २६० मेट्रिक टन माग रहेकोमा २६ हजार ४३९ र पोटास ८ हजार ५०० मेट्रिक टन माग रहेकोमा १०० मेट्रिक टन मात्र आपूर्ति भएको छ ।
मन्त्रालयका बाली विकास अधिकृत एवम् बागमती प्रदेशका मल आपूर्ति तथा वितरण फोकल पर्सन सुदिप भुजेलका अनुसार मागको तुलनामा आपूर्ति निकै कम भए पनि रासायनिक मल वितरणलाई व्यवस्थित बनाईएको बताउनुभयो । हालसम्म प्राप्त मल मध्ये दोलखामा ३ हजार १५३ मेट्रिक टन, सिन्धुपाल्चोकमा ४ हजार ३२८, रसुवामा ७८५, धादिङमा ८ हजार ६, नुवाकोटमा ७ हजार ९३७ मेट्रिक टन वितरण भएको छ । यस्तै काठमाडौँम ३ हजार १८८, भक्तपुरमा २ हजार ६२३, ललितपुरमा २ हजार १८२, काभ्रेपलाञ्चोकमा ११ हजार ६५५.२५, रामेछापमा ३६१५, सिन्धुलीमा ४ हजार ९०३, मकवानपुर ६ हजार ३६३.९२, चितवनमा १० हजार ९९५.२ मेट्रकटन मल वितरण भएको छ ।
त्यसैगरी, आर्थिक वर्ष २०८३÷८४ का लागि पनि मलको माग उच्च देखिएको उहाँले बताउनुभयो । आगामी वर्षका लागि युरियाको माग १ लाख ६४ हजार १९३ मेट्रिक टन, डि.ए.पी.को माग ८६ हजार ८७ मेट्रिक टन र पोटासको माग ३ हजार ७५९ मेट्रिक टन गरि कुल २ लाख ८७ हजार ६३९ मेट्रिक टन पुगेको उहाँले बताउनुभयो । हरेक वर्ष मलको माग उच्च हुँदै गएपनि समयमा नै पर्याप्त मल आपूर्ति हुन नसक्दा कृषि उत्पादनमा नकारात्मक असर पर्ने देखिएको छ ।
बागमती प्रदेशमा आर्थिक वर्ष २०८१÷०८२ मा कुल ४ लाख ३६ हजार ४२७ हेक्टर क्षेत्रमा गहु, मकै, कोदो, फापर र जौ तथा १ लाख २५ हजार १५७ हेक्टर क्षेत्रमा धान खेती लगाईएको मन्त्रालयको तथ्याङ्क छ । जसमा क्रमश १३ लाख ६१ हजार ७४९ मेट्रिक टन र ४ लाख ९८ हजार ६६२ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष भने प्रदेशभर हालसम्म अघिल्लो वर्षको तुलनामा करीब ७ प्रतिशत कम अर्थात करीब १३ प्रतिशत रोपाई सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।






