विश्वकप फुटबल २०२६: यसअघिका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक 

0
2

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ यसअघिका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ । आउँदो बिहीवार रातिदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगितामा सहभागी टोली, खेल सङ्ख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन गरिएको छ । विश्वकपको इतिहासमै पहिलो पटक ४८ टोली सहभागी हुँदैछन् ।

यसअघि सन् १९९८ देखि २०२२ सम्म ३२ टोलीले खेल्दै आएका थिए । टोली सङ्ख्या बढेसँगै विश्वका थप देशले विश्वकप खेल्ने अवसर पाउने भएका छन् । त्यस्तै प्रतियोगिता तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो विश्वकप पनि हुनेछ । खेलहरू अमेरिका, क्यानडा र मेक्सिकाेका १६ शहरमा सञ्चालन हुनेछन् ।

नयाँ ढाँचाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा चार टोली रहनेछन् । समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने आठ वटा तेस्रो स्थानका टोली पनि नकआउट चरणमा पुग्नेछन् । यसपटक पहिलो पटक राउन्ड अफ ३२ समावेश गरिएको छ । त्यसपछि राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल हुनेछ । यसका कारण उपाधि जित्ने टोलीले अब सात होइन आठ खेल खेल्नुपर्नेछ ।

टोली सङ्ख्या बढेपछि प्रतियोगिताका खेल पनि उल्लेख्य रूपमा बढेका छन् । सन् २०२२ को कतार विश्वकपमा ६४ खेल भएका थिए भने यसपालि १ सय ४ खेल हुनेछन् जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो ।

यसैगरी प्रतियोगिताको अवधि पनि लम्बिएको छ । अघिल्ला विश्वकपभन्दा लामो समय चल्ने यो प्रतियोगिता झन्डै ३९ दिनसम्म सञ्चालन हुनेछ । फिफाले विश्वकप २०२६ लाई इतिहासकै सबैभन्दा ठूलो, सबैभन्दा धेरै देश सहभागी भएको र सबैभन्दा धेरै खेल भएको संस्करणका रूपमा प्रस्तुत गरेको छ ।

अत्याधुनिक प्रविधिमैत्री विश्वकप

विश्वकपमा खेललाई थप निष्पक्ष, छिटो र प्रविधिमैत्री बनाउन विभिन्न नयाँ नियम लागू गरिने भएको छ । विश्व फुटबलको नियम बनाउने निकाय ‘आईएफएबी’ र फिफाले विश्वकपअघि नियमहरूमा महत्त्वपूर्ण परिवर्तन गरेका हुन् । विश्वकपमा अब ‘अफसाइड’ निर्णय अझ छिटो हुने भएको छ । नयाँ ‘सेमी–अटोमेटेड अफसाइड’ प्रविधिमार्फत सहायक रेफ्रीले तत्काल सूचना प्राप्त गर्नेछन् र स्पष्ट ‘अफसाइड’ मा तुरुन्त झण्डा उठाउन सक्नेछन् । साथै अत्याधुनिक क्यामेरा, बलमा जडित ‘सेन्सर’ तथा ‘थ्रीडी’ अवतार प्रविधिको प्रयोग गरिनेछ ।

समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न गोलकिपर र खेलाडीमाथि कडाइ गरिएको छ । ‘थ्रो–इन’ र ‘गोलकिक’ पाँच सेकेन्डभित्र लिनुपर्नेछ । समयसीमा नाघेमा विपक्षी टोलीलाई बलको अधिकार दिइनेछ वा ‘कर्नर’ प्रदान गरिनेछ । प्रतिस्थापन गरिएका खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ । ढिला गरेमा मैदान प्रवेश गर्ने नयाँ खेलाडीलाई अतिरिक्त एक मिनेट कुर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘भीएआर’ को अधिकार क्षेत्र पनि विस्तार गरिएको छ । अब गलत ‘कर्नर’ निर्णय, दोस्रो पहेँलो कार्डका घटनाहरू तथा ‘कर्नर’ वा ‘फ्रिकिक’ अघि भएका ‘फाउल’ हरूको समेत समीक्षा गर्न सकिनेछ । खेलाडीको व्यवहारसम्बन्धी नियम पनि कडा बनाइएको छ । विवादका क्रममा मुख छोपेर कुरा गर्ने खेलाडी वा प्रशिक्षकलाई सीधै रातो कार्ड देखाउन मिल्नेछ । रेफ्रीको निर्णयविरुद्ध प्रदर्शनस्वरूप मैदान छाडेमा पनि रातो कार्डको व्यवस्था गरिएको छ ।

घाइते खेलाडीको उपचारसम्बन्धी नियम पनि परिवर्तन गरिएको छ । उपचारका लागि मैदानबाहिर गएका खेलाडी कम्तीमा एक मिनेटसम्म मैदानमा फर्किन पाउने छैनन् । यसले नक्कली चोट देखाएर खेल रोक्ने प्रवृत्ति नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । फिफाका अनुसार यी परिवर्तनले खेलको गति बढाउने, रेफ्रीका निर्णयलाई थप विश्वसनीय बनाउने तथा दर्शकको अनुभव सुधार गर्ने लक्ष्य राखिएकाे छ ।

छैटौँ विश्वकप खेल्दै इतिहास रच्ने स्टार खेलाडी

सन् २०२६ को फिफा विश्वकप केवल नयाँ ढाँचा र ४८ टोलीका कारण मात्र विशेष छैन, केही खेलाडीले इतिहासकै दुर्लभ कीर्तिमान पनि बनाउँदैछन् । विश्व फुटबलका चर्चित तीन खेलाडीले लगातार छैटौँ पटक विश्वकप खेल्ने अवसर पाएका छन् ।

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल) 

४१ वर्षीय रोनाल्डोले सन् २००६ को जर्मनी विश्वकपबाट यात्रा शुरू गरेका थिए । त्यसयता सन् २०१०, २०१४, २०१८, २०२२ र अब २०२६ गरी लगातार छैटौँ विश्वकप खेल्दै छन् । विश्वकप उपाधि भने उनको हातमा अझै परेको छैन, त्यसैले यो उनको अन्तिम ठूलो लक्ष्यका रूपमा हेरिएको छ ।

लियोनल मेसी (अर्जेन्टिना)

सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताएका मेसी पनि छैटौँ पटक विश्वकप खेल्दै छन् । सन् २००६ मा पहिलो विश्वकप खेलेका उनले विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमानसमेत बनाएका छन् । यो प्रतियोगिता उनको अन्तर्राष्ट्रिय करियरको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।

गुइलेर्मो ओचोआ (मेक्सिको)

मेक्सिकोका अनुभवी गोलरक्षक ओचोआ पनि छैटौँ विश्वकप खेल्ने सूचीमा छन् । सन् २००६ देखि विश्वकप टोलीमा रहँदै आएका उनी विश्वकप इतिहासमा छैटौँ संस्करणमा सहभागी हुने पहिलो गोलकिपर बनेका छन् ।

यो विश्वकप नदेखिने चर्चित खेलाडीहरू

अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेकाे फिफा विश्वकप २०२६ मा विश्व फुटबलका धेरैजसाे स्टार खेलाडी उपस्थित भए पनि केही चर्चित नाम भने प्रतियोगिताबाट बाहिरिएका छन् । केही खेलाडीको देश नै छनोट हुन नसक्दा, केही चोटका कारण र केही प्रशिक्षकको अन्तिम टोलीमा नपर्दा विश्वकप गुमाएका हुन् ।

सबैभन्दा ठूलो झड्का इटालीका समर्थकलाई लागेको छ । इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएपछि गोलरक्षक जियानलुइजी डोनारुम्मा, मिडफिल्डर सान्द्रो टोनाली, डिफेन्डर अलेसान्द्रो बास्तोनी र फेडेरिको डिमार्को जस्ता स्टार खेलाडी विश्वकपमा देखिने छैनन् ।

अफ्रिकी फुटबलका चर्चित फरवार्ड भिक्टर ओसिम्हेन र अडेमोला लुकम्यान पनि नाइजेरिया छनोट हुन नसकेपछि विश्वकपबाट बाहिरिएका छन् । युरोपका अन्य चर्चित अनुपस्थित खेलाडीमा पोल्यान्डका रोबर्ट लेवान्डोस्की, हङ्गेरीका डोमिनिक सोबोस्लाई, जर्जियाका ख्भिचा क्वारात्स्खेलिया र स्लोभेनियाका बेन्जामिन सेस्को रहेका छन् ।

चोटका कारण विश्वकप गुमाउने चर्चित खेलाडीहरूको सूची पनि लामो छ । ब्राजिलका रोड्रिगो, एडर मिलिटाओ तथा युवा स्टार एस्तेभाओ घाइते भएपछि टोलीबाट बाहिरिएका छन् । नेदरल्यान्ड्सका जाभी सिमोन्स र माथाइस डे लिग्ट पनि चोटका कारण विश्वकप खेल्न नपाउने भएका छन् । यस्तै फ्रान्सका ह्युगो एकिटिके, जर्मनीका सर्ज ग्नाब्री र जापानका काओरु मितोमा समेत चोटका कारण प्रतियोगिताबाट टाढिएका छन् ।

इङ्ग्ल्यान्डका केही चर्चित खेलाडी पनि अन्तिम टोलीमा अटाउन सकेनन् । फिल फोडेन, कोल पाल्मर, ह्यारी म्याग्वायर र ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्ड प्रशिक्षकको छनोटमा पर्न सकेनन् । विश्वकप २०२६ मा लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो र नेयमार जस्ता दिग्गजहरू मैदानमा देखिने भए पनि केही चर्चित खेलाडीहरूको अनुपस्थितिले प्रतियोगितामा केही खल्लोपन महसुस हुने देखिन्छ । 

साभार–उज्यालो अनलाइन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here