मकवानपुर, जेठ २६ । हेटौंडामा जारी बागमती कप टी–२० क्रिकेट प्रतियोगिता–२०८३ को उपाधि चितवनले जितेको छ । हेटौँडा–६ स्थित गौरिटार रंगशालाको क्रिकेट मैदानमा मंगलबार भएको फाइनल खेलमा काठमाडौंलाई सुपरओभरमा पराजित गर्दै चितवनले उपाधि चुमेको हो ।
मैदान भिजेका कारण ढिला सुरु भई १० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर ८९ रन बनाएको थियो । जवाफी व्याटिङमा उत्रिएको चितवनले पनि निर्धारित ओभरमा ६ विकेट गुमाएर ८९ रन मात्रै बनाएपछि खेलमा बराबरीमा पुगेको थियो । सुपरओभरमा भने, पहिले व्याटिङ गरेको काठमाडौंले १० रन मात्रै जोड्दा चितवनले ४ बलमै ११ रन जोड्दै जित निकालेको हो ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र मकवानपुर क्रिकेट संघको संयुक्त आयोजनामा गत जेठ १७ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरु मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौंको सहभागिता रहेको थियो ।






