मकवानपुर, ७ असार । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले थाहा दर्शनलाई नयाँ पुस्तामा पुस्तान्तरण हुनुपर्ने बताउनुभएको छ । थाहा दर्शनका प्रेरणता रुपचन्द्र बिष्टको २७औं स्मृति दिवशका अवसरमा आईतबार हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा पौडेलले बिष्टका बिचारहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै यसलाई नयाँ पुस्तामा पु¥याउन जरुरी रहेको बताउनुभयो ।

रुपचन्द्र बिष्टको योगदान नेपालको राजनीतिक परिर्वतन र सामाजिक रुपान्तरणमा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । “बिष्टका आदर्श, सिद्धान्त र बिचारहरु नेपालको परिर्वतनका लागि आवश्यक थियो र त्यो आज पनि सान्दर्भिक छ ।“ उहाँले भन्नुभयो । उहाँले बिष्टलाई थाहा दर्शनको प्रतिक, दार्शनीक र जनमुखिका रुपमा चर्चा गर्नुभयो ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले रुपचन्द्र बिष्टको चर्चा गर्नुभयो । वक्ताहरुले बिष्ठलाई मयनबत्तीको संज्ञा दिँदै उहाँको कथनी र करणि एउटै हुने गरेकै कारण उहाँको बिचार र सिद्धान्त आज पनि जिवित रहेको बताउनुभयो । उहाँहरुले हिजो बिचारहरु पुस्तान्तरण हुन नसक्दा आजको अवस्था आएको भन्दै उहाँको बिचार र सत्कर्म पुस्तान्तरण गर्नपर्ने धारणा राख्नुभयो ।

रुपचन्द्र बिष्ट स्मारक विकास समितिका अध्यक्ष रानारायण बिडारीको अध्यक्षतामा भएको कार्यक्रममा समितिका सचिव रामहरि सुवेदी, रुपचन्द्र बिष्टका अनुयायी छविलाल वाईवा, प्रकाश पौडेल, श्रृषिराम पोखरेल, कवि युग पाठक, पत्रकार प्रताप बिष्टलगायतले धारणा राख्नु भएको थियो । बागी भुगोल साप्ताहिकले आयोजना गरेको कार्यक्रममा संस्थाका कार्यसमितिलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो ।






