हेटाैंडा,जेष्ठ १७ । प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक, लिम्पियाधुरा र कालापानी सीमा विवाद कूटनीतिक संवाद र टेबुल टकमार्फत समाधान हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजकाे बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भारत सरकारलाई अधिकारिक कूटनीतिक नोट पठाइसकिएको र त्यसको जवाफ पनि प्राप्त भइसकेको जानकारी दिनुभयो । उहाँले दुवै सरकारका इतिहासविद्, सर्वेक्षक तथा भूमिसम्बन्धी विज्ञहरू राखेर टेबुल टकमार्फत यो विवाद समाधान गरिने बताउनुभयो ।
प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले लिपुलेक र लिम्पियाधुरा हुँदै भारत र चीनबीच हुने व्यापारको विषयमा प्रश्न उठाएपछि प्रधानमन्त्रीले यो स्पष्टीकरण दिनुभएको हो ।
प्रधानमन्त्री शाहले लिपुलेक सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनीतिक संवाद भएको जानकारी गराउँदै नेपालले भारतको भूमि मिचेको भन्ने प्रश्न पनि उठेकाले त्यसको समाधान दुवै देश मिलेर गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीले हात उठाएर समय मागेपछि सभामुख डीपी अर्यालले उहाँलाई रोस्ट्रम प्रयोग गर्न दिनुभयो । केही सांसदले नियमावली विपरीत भएको भनी विरोध जनाए पनि सभामुखले नियमावलीअनुसार नै भएको भन्दै दलगत रूपमा प्रश्न राख्न अनुमति दिनुभएको हो । विगतमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमका लागि सभामुखले समय निर्धारण गरेर सांसदहरूले लिखित रूपमा प्रश्न दर्ता गराउने अभ्यास थियो ।






