प्रगति माविद्वारा एसइई उत्तीर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान

0
1

हेटौंडा, जेठ ४ । हेटौंडा ९ स्थित प्रगति माध्यमिक विद्यालयले एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले सोमबार एक कार्यक्रमका बिच एसइई परीक्षामा उत्तीर्ण विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरेको हो ।
यस वर्ष विद्यालयबाट परीक्षामा सहभागी १०४ जनामध्ये ८० जना अर्थात (७६.९२ प्रतिशत) विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । यस वर्ष कुल १०८ जना परीक्षार्थीले परिक्षा दिनका लागि फारम भरेको भए पनि ४ जना विद्यार्थी अनुपस्थित रहेको विद्यालयका प्रधानाध्यापक किशोर पराजुलीले बताउनुभयो । परीक्षामा सम्मिलित मध्ये २४ जनाको भने ‘एनजी’ आएको छ भने ८० जना विद्यार्थीहरू उत्तीर्ण भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार जसमध्ये ३.६ वा सोभन्दा माथि अंक ल्याउने १८ जना, ३.२ वा सोभन्दा माथि अंक ल्याउने १६ जना, २.८ वा सोभन्दा माथि अंक ल्याउने ३२ जना र २.४ वा सोभन्दा माथि अंक ल्याउने १४ जना रहेका छन् । सो अवसरमा विद्यालयले नतिजा उत्कृष्ट ल्याउन मेहनत गर्नु हुने शिक्षक तथा विद्यार्थीका अभिभावकलाई पनि सम्मान गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको अध्यक्षता एवम् हेटौंडा–९ का वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्यामा कार्यक्रम भएको हो । कार्यक्रममा उहाँले वडाको शिक्षा क्षेत्रमा भइरहेको प्रगतिबारे चर्चा गर्दै उत्तीर्ण विद्यार्थीहरूको आगामी शैक्षिक यात्राको सफलताको कामना गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लामिछानेले विद्यालयको उत्कृष्ट शिक्षण सिकाइ कै कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here