हेटौँडा, चैत्र २८ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित प्रगति माध्यमिक विद्यालय र दिव्यज्योति आधारभूत विद्यालय आपसमा गाभिएका छन् । हेटौँडा उपमहानगरपालिका नगर शिक्षा समितिको गत फागुन ३० गतेको बैठकले यी दुवै विद्यालयलाई मर्ज गर्ने निर्णय गरेको हो ।

आगामी शैक्षिक सत्र २०८३ देखि दुवै विद्यालय मिलेर प्रगति माविकै नामबाट सञ्चालन हुनेछन् । हाल प्रगति माविमा १ हजार २ सय ५० र दिव्यज्योतिमा १ सय ९३ जना विद्यार्थी अध्ययनरत छन् । यस्तै, प्रगतिमा ५० जना र दिव्यज्योतिमा १० शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् ।
प्रगति माविका प्रधानाध्यापक किशोर पराजुलीका अनुसार साबिकको दिव्यज्योतिको भवनमा प्रगति माविको ब्लक ‘डी’ सञ्चालन गरिनेछ । उक्त ब्लकमा यातायात सुविधासहित प्ले ग्रुप र नर्सरीदेखि कक्षा ३ सम्मको पठनपाठन हुनेछ । वृहत विद्यालयको अवधारणाअनुसार विद्यालय मर्ज गरिएको र यसबाट व्यवस्थापन अझ प्रभावकारी हुने प्रधानाध्यापक पराजुलीले बताउनुभयो । प्राथमिक तहमा विद्यार्थी संख्या वृद्धि गर्न साना बालबालिकाहरूका लागि अनुकूल पूर्वाधार विकास गरिने उहाँको भनाइ छ ।






