मकवानपुरका ४० उम्मेदवारले बैङ्क खाता खोले

0
2

फाल्गुन १७, मकवानपुर । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा उम्मेदवारी दर्ता गराएका मध्ये ४० जनाले बैङ्क खाता खोलेका छन् । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरमा स्वतन्त्रसहित ४४ जनाले उम्मेदवारी दिएका मध्ये ४ जनाले खाता खोल्न बाँकी रहेको प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख हरिप्रसाद ढकालका अनुसार ४४ जना उम्मेदवार मध्ये श्रम संस्कृति पार्टीका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारले सिफारिस नै लिन बाँकी रहेको छ । हालसम्म ४० जनाले खाता खोल्नु भएको र सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको प्रमुख ढकालले बताउनुभयो । “हामीले बाँकी रहनु भएकालाई पनि खाता खोल्न भनेका छौँ, कतिपय उम्मेदवारले केन्द्र बाटै खर्च हुने भन्नु भएको र कतिपयले भने खाता खोल्ने प्रक्रियामा नै रहेको जवाफ दिनु भएको छ ।” ढकालले भन्नुभयो ।
मकवानपुर जिल्लाको क्षेत्र नम्बर–१ मा २३ जना र क्षेत्र नम्बर–२ मा २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सो मध्ये क्षेत्र नम्बर २ बाट श्रम संस्कृति पार्टीका उम्मेदवार युनिट लामा स्याङ्तान र स्वतन्त्र उम्मेदवार सितामाया बलले सिफारिस लिन बाँकी रहेको छ । भने, क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार सुशीला सुवेदी र राकेश कुमार शर्माले बैङ्क खाता खोल्न काँकी रहेको प्रमुख ढकालले बताउनुभयो ।
निर्वाचन आयोगले राजनीतिक दल एवं उम्मेदवारबाट हुने निर्वाचन प्रचारप्रसारका लागि प्राप्त हुने स्वैच्छिक आर्थिक सहयोगको रकम र त्यसको प्रचारप्रसारका लागि गर्ने खर्चलाई मितव्ययी, पारदर्शी बनाइ निर्वाचनमा सुशासन कायम गर्न बैङ्किङ खाता खोल्नुपर्ने प्रावधान ल्याएको हो ।
यस्तै जिल्लाको क्षेत्र नम्बर १ मा १३ जना दलीय र १० जना स्वतन्त्र तथा क्षेत्र नम्बर २ मा १६ जना दलीय र ५ जना स्वतन्त्र उम्मेदवार रहेकोमा हालसम्म १४ जना उम्मेदवारले मात्र आफ्नो घोषणापत्र आयोगमा बुझाएका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तारा प्रसाद आचार्यका अनुसार कार्यालयमा अहिले सम्म दल र स्वतन्त्र गरि १४ जनाको घोषणापत्र प्राप्त भएको छ ।
हालसम्म नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, र नेपाल कम्युनिष्ट पार्टी र स्वतन्त्र उम्मेदवारहरू राकेश कुमार शर्मा, सितामाया बल, प्रमिला खतिवडा, रमेश आचार्य, राजकुमार खड्काको घोषणा पत्र प्राप्त भएको जानकारी दिनुहुँदै उहाँले अन्य दलहरूले केन्द्रमा नै बुझाउन सक्ने हुँदा सोही अनुसार भएको हुनुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here