प्रतिनिधिसभा निर्वाचनः मकवानपुरमा डिजिटल प्रचार र संगठनबीच रणनीतिक प्रतिस्पर्धा

0
1

मकवानपुर, फागुन ६ । बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धा परम्परागत संगठन बल र डिजिटल प्रचारबीचको रणनीतिक प्रतिस्पर्धाका रूपमा विकसित हुँदै गएको छ । यसपटकको चुनावी अभियान केवल घरदैलो र आमसभामा सीमित छैन, मोबाइल स्क्रिनमा पनि समान रूपमा विस्तार भएको देखिन्छ ।
जिल्लाका दुई प्रतिनिधिसभा क्षेत्रमध्ये क्षेत्र नम्बर–१ मा २३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । शहरी तथा अर्धशहरी भूगोल बढी रहेको यस क्षेत्रमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, एमालेका रामेश्वर राना, नेपाली कम्युनिष्ट पार्टीका विजय गौतम, राप्रपाका दीपकबहादुर सिंह, रास्वपाका प्रकाश गौतम, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ महर्जन, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामा, प्रगतिशील लोकतान्त्रिक पार्टीका तेजप्रसाद उप्रेती, नेमकिपाकी रञ्जना सुवाल र नेकपा (माओवादी)का महेश नेपाली मुख्य प्रतिस्पर्धी हुन् ।
कुल १ लाख ५८ हजार ४३५ मतदाता रहेको क्षेत्र नम्बर १ मा सामाजिक सञ्जालको पहुँच अपेक्षाकृत बलियो भएकाले पनि उम्मेदवारहरूले डिजिटल प्रचारमा उल्लेख्य सक्रियता देखाएका छन् । घरदैलोका झलक, छोटा भिडियो सन्देश र लाइभ अपडेटमार्फत ‘इमेज–केन्द्रित’ प्रचारलाई प्राथमिकता दिइएको छ ।
त्यसैगरी क्षेत्र नम्बर–२ मा २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । ग्रामीण तथा दुर्गम क्षेत्र बढी रहेको यस क्षेत्रमा कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, नेपाली कम्युनिष्ट पार्टीका लवशेर विष्ट, राप्रपाका रामबहादुर थोकर, श्रम संस्कृति पार्टीका युनिश लामा स्याङतान, रास्वपाका प्रशान्त उप्रेती, उज्यालो पार्टी नेपालका प्रविणकुमार स्याङतान, राष्ट्रिय जनमोर्चाका निरबहादुर सिन्तान, प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्तोष विष्ट, नेशनल मंगोल अर्गनाइजेशनका हिरालाल स्याङतान, नेमकिपाका सरोज तामाङ, नेकपा (माओवादी)का राम घलान ‘वाटर’ र संयुक्त नागरिक पार्टीका शुभराज प्रजालगायत उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।
यस क्षेत्रमा १ लाख ५६ हजार ८९९ मतदाता छन् जाँहा अझै पनि पार्टी संगठन, स्थानीय अगुवा र प्रत्यक्ष भेटघाट निर्णायक मानिन्छ । त्यसैले उम्मेदवारहरूले डिजिटल प्रयोगसंगै समर्थक भेला, टोलसभा र घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको पाईन्छ ।
संख्यात्मक रूपमा हेर्दा दुवै क्षेत्रमा मतदाता करिब बराबरी भए पनि भूगोल र प्रविधि पहुँचका आधारमा प्रचार रणनीतिमा फरकपन देखिएको छ । शहरी क्षेत्रमा डिजिटल पहुँचले प्रभाव पार्ने अनुमान गरिए पनि ग्रामीण क्षेत्रमा संगठन संरचना र व्यक्तिगत सम्पर्क अझै बलियो आधार बनेको छ ।
यसैबीच निर्वाचन आयोग नेपालले अघि सारेको ‘हरित निर्वाचन’ अवधारणाले पनि डिजिटल प्रचारलाई थप प्रोत्साहन दिएको छ । पोस्टर, फ्लेक्स र ध्वनि प्रदूषण सीमित गर्न गरिएको आग्रहपछि उम्मेदवारहरू अनलाइन माध्यमतर्फ आकर्षित भएका छन् । मकवानपुरको चुनाव अब केवल परम्परागत संगठन बलको परीक्षण मात्र नभई डिजिटल सन्देश व्यवस्थापन र पहुँचको प्रतिस्पर्धासमेत बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here