पुस २४ गतेभित्र उम्मेदवार सिफारिस गर्न एमालेको निर्देशन

0
1

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फका लागि यही पुस २४ गतेभित्र उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएका छ ।एमालेका सचिव डा राजन भट्टराईले सात वटै प्रदेश कमिटीलाई जिल्ला कमिटीबाट आएका उम्मेदवारको नामावली यही पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार यसरी उम्मेदवारको नामावली पठाउँदा एक निर्वाचन क्षेत्रबाट एक जना महिला उम्मेदवारसहित कम्तीमा तीन जनाको नाम पठाउन भनिएको छ । “एक निर्वाचन क्षेत्र भएका जिल्लालाई पुस २० गतेभित्र छनोट गरी प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो, “एकभन्दा बढी निर्वाचन क्षेत्र भएकालाई पुस २४ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा आइपुग्ने गरी जिल्ला कमिटीबाट पठाइएका नामावली पठाउन भनेका छौँ ।”
जिल्ला कमिटीबाट आएका उम्मेदवारको सूचीलाई प्रदेश कमिटीले जस्ताको तस्तै पठाउन पनि सक्ने र नाम थप गरेर पनि पठाउन सक्ने पार्टी सचिव डा भट्टराईले जानकारी दिनुभयो । पार्टीले एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा जिल्ला कमिटीको सिफारिस र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय निर्वाचन कमिटीले एक महिलासहित कम्तीमा तीन जनाको नाम सिफारिस गर्न भनिएको छ । तल्लो तहबाट आएका उम्मेदवारमध्ये मापदण्डका आधारमा निर्वाचन जित्ने उम्मेदवारलाई पार्टीले टिकट दिने सचिव डा भट्टराईले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here