आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

0
1

आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ दिन भए पनि तिथिका हिसाबले आज नवरात्रको पाँचौँ दिन हो । नवरात्रको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजाआराधना गरिँदैछ। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ । गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन् । यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ । कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ ।
नवरात्रमा प्रत्येक दिन एक एक देवीको आराधना गर्ने परम्परा छ। दुर्गा पक्ष समेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी) , श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ गरिन्छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन्। नवरात्रभर महाकाली, महालक्ष्मी, महासरस्वतीरूपिणी शक्तिस्वरूपा भगवतीको आराधना गर्ने परम्परा छ। यसै अवसरमा देशभरका मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चना गर्नेहरूको भीड लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here