हेटौंडामा साउन ७ गतेदेखि ई–स्पोर्ट्स एरिना प्रतियोगिता हुँदै

0
1

हेटौंडा । हेटौंडा सिटी कलेज र जेनिथ इन्टरनेशनल विद्यालयको संयुक्त आयोजनामा हेटौंडामा साउन ७ गतेदेखि दोस्रो संस्करणको ई–स्पोर्ट्स एरिना प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिइएको हो।

पत्रकार सम्मेलनमा विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले प्रतियोगितामा सहभागी हुनका लागि कम्तीमा १६ वर्ष उमेर पुगेको र एसईई परीक्षा दिइसकेको हुनु पर्नेछ। प्रतियोगितामा फ्री फायर, पब्जी र ई–फुटबल गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ। फ्री फायरमा ३६ स्लट, पब्जीमा १२ स्लट र ई–फुटबलमा ४० स्लट रहनेछ। पब्जी र फ्री फायरमा हरेक टोलीमा एक जना ब्याकअपसहित ५ जना खेलाडी रहनेछ भने प्रतियोगितामा जम्मा ४८ टोलीका करिब २८० जना खेलाडीहरूको सहभागिता रहने उनले जानकारी दिए ।
विद्यालयका प्रशासन प्रमुख सुमन्त सिलवालका अनुसार मकवानपुर जिल्लामा कलेज तहबाट पहिलो पटक पुरस्कार राशिसहितको ई–स्पोर्ट्स प्रतियोगिता आयोजना गर्न लागिएको हो। कुल ५० हजार रुपैयाँ पुरस्कार राशिको प्रतियोगिता नेपालमै कलेजस्तरबाट आयोजना हुने सबैभन्दा ठूलो ई–स्पोर्ट्स इभेन्ट भएको दाबी गरिएको छ। ई–स्पोर्ट्सप्रति बढ्दो युवापुस्ताको आकर्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

फ्री फायर खेलमा प्रथम हुने टोलीलाई नगद ११ हजार रुपैयाँ, दोस्रो हुनेलाई ५ हजार ५ सय रुपैयाँ र तेस्रो हुनेलाई २ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट खेलाडी र फ्यान फेभरेट टिमलाई २/२ हजार रुपैयाँ प्रदान गरिने छ । पब्जी खेलमा प्रथम हुने टोलीले ८ हजार ५ सय रुपैयाँ, दोस्रोले ४ हजार रुपैयाँ, तेस्रोले २ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट खेलाडीलाई १ हजार ५ सय रुपैयाँ पुरस्कार दिइनेछ। ई–फुटबल विधामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ४ हजार, २ हजार ५ सय र १ हजार ५ सय रुपैयाँ प्रदान गरिनेछ भने टप गोलकर्तालाई १ हजार रुपैयाँको पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल साउन ८ गते हुनेछ। समाचार बनाउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here