हेटौंडा, १४ असार । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको २६औँ स्थापना दिवसको अवसरमा हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिर परिसरमा रहेको संस्कृत वेद विद्यालयलाई वाटर प्युरिफायर हस्तान्तरण गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले संस्थाको स्थापना दिवका अवसरमा वाटर प्युरिफायर स्थापना तथा हस्तान्तरण गरिएको हो ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा तथा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडा अध्यक्ष फुर्बा लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं टोल विकास संस्था नगर समन्वय समितिका सल्लाहकार रामकृष्ण थापा, सल्लाहकार गणेश कुमार श्रेष्ठ, हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाका प्रमुख डा. भीमप्रसाद तिमल्सिना, विध्यालयका सल्लाहकार इन्द्र नेपाल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि लामाले टोल विकास संस्थाहरू स्थानीय सरकारका महत्वपूर्ण साझेदार भएको उल्लेख गर्दै समुदायस्तरमा विकास, सामाजिक सद्भाव, जनसहभागिता तथा सकारात्मक परिवर्तनका लागि संस्थाहरूले खेलेको भूमिका अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो । उहाँले यस्ता जनमुखी तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
अध्यक्ष अधिकारीले टोल विकास संस्था समुदायको विकास, सामाजिक रूपान्तरण तथा नागरिक सहभागिताको सशक्त माध्यम भएको बताउनुभयो । उहाँले विगत २६ वर्षदेखि टोल विकास संस्थाहरूले वातावरण संरक्षण, सरसफाइ, महिला सशक्तीकरण, नेतृत्व विकास, सामाजिक सचेतना अभिवृद्धि तथा सामुदायिक विकासका विविध क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो । विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गर्नु पनि संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको महत्वपूर्ण कार्य भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समितिका पदाधिकारी एवं सदस्यहरू, टोल विकास संस्था वडा समन्वय समितिका सदस्यहरू, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरू, विद्यालयका विद्यार्थी, शिक्षक तथा स्थानीयवासीहरूको सहभागिता थियो।






