हेटौँडा, ११ असार । हेटौँडामा तीन दिने ड्रागन फ्रुट महोत्सव सुरू भएकाे छ । हेटौँडा–११, थानाभर्याङस्थित प्रदेश कृषि थोक बजार परिसरमा बिहीबारदेखि ‘ड्रागन फ्रुट महोत्सव–२०८३’ सुरु भएको हाे ।
शनिबारसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले गर्नुभयो । महोत्सव प्रदेश कृषि थोक बजार सञ्चालक समिति, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको आयोजनामा सुरु भएको हो ।
महोत्सवमा ड्रागन फ्रुट प्रदर्शनी तथा बिक्री–वितरण, स्वाद परीक्षण, प्राविधिक जानकारी, कृषि परामर्श र कृषक–उपभोक्ताबीच प्रत्यक्ष सम्पर्कको व्यवस्था गरिएको छ । आयोजकका अनुसार महोत्सव बिहान ६ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा २० देखि ३० वटा स्टल रहने, करिब एक हजार पाँच सय उपभोक्ता सहभागी हुने र करिब दुई हजार पाँच सय किलोग्राम ड्रागन फ्रुट कारोबार हुने अपेक्षा गरिएको छ । आयोजक समितिले ताजा, स्वस्थ र गुणस्तरीय ड्रागन फ्रुट खरिदका लागि उपभोक्ता, कृषक, फलफूल व्यवसायी तथा सरोकारवालालाई महोत्सवमा सहभागी हुन आह्वान गरेको छ ।






