हेटौँडामा विपद् व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास

0
1

हेटौँडा, ११ असार । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार हेटौँडामा विपद् व्यवस्थापनसम्बन्धी संयुक्त कृत्रिम अभ्यास कार्यक्रम गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको हेटेक्स चौरमा गरिएको अभ्यासमा विपद्का समयमा खोज तथा उद्दार, घाइते व्यवस्थापन, प्राथमिक उपचार, आगलागी नियन्त्रण, सूचना प्रवाह र सरोकारवाला निकायबीच समन्वय कसरी गर्ने भन्ने विषयमा नमुना अभ्यास प्रदर्शन गरिएको थियो ।
विपद् आइपरेको अवस्थामा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, अस्पताल, रेडक्रस, स्काउट तथा अन्य सरोकारवाला निकायबीच एकीकृत कमाण्ड र सञ्चार समन्वय स्थापित गर्ने उद्देश्यले अभ्यास आयोजना गरिएको मन्त्रालयले जनाएको छ । अभ्यासमा हेटौँडा उपमहानगरपालिका, नेपाली सेनाको मध्यपृतना हेडक्वाटर, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडा अस्पताल, बागमती प्रदेश प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखा, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर र नेपाल स्काउट बागमती प्रदेश समितिलगायत निकायको सहभागिता थियो ।
कार्यक्रममा विपद्पछि प्रभावित क्षेत्रको पहिचान, सुरक्षाघेरा निर्माण, घाइतेको उद्दार, प्राथमिक उपचार, एम्बुलेन्समार्फत अस्पताल पठाउने प्रक्रिया तथा आगलागी नियन्त्रणजस्ता गतिविधि प्रदर्शन गरिएको थियो । सम्बन्धित निकायबाट सहभागी अधिकारीले आ–आफ्नो जिम्मेवारीअनुसार विपद् प्रतिकार्यमा कसरी परिचालित हुने भन्ने अभ्यासमार्फत देखाएका थिए । अभ्यासले विपद्का बेला निकायगत भूमिका स्पष्ट पार्न, प्रतिकार्य योजना परीक्षण गर्न र सुधार गर्नुपर्ने पक्ष पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीको अध्यक्षता तथा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका प्रमुख सचिव, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मन्त्रालयका सचिवहरू, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानका प्रादेशिक प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति थियो । कार्यक्रममा विपद् व्यवस्थापन क्षेत्रमा क्रियाशील विषयगत क्षेत्र÷क्लस्टरका प्रतिनिधि, विभिन्न मन्त्रालय तथा निकायका कर्मचारी र सञ्चारकर्मीहरूको समेत सहभागिता थियो ।
सामाजिक विकास मन्त्री बादेले विपद् नआओस् भन्ने सबैको चाहना भए पनि विपद् आइहालेमा त्यसको सामना गर्ने शक्ति र क्षमता विकास गर्न यस्ता अभ्यास महत्वपूर्ण हुने बताउनुभयो । उहाँले विपद् न्यूनीकरण, उद्धार र नागरिक सुरक्षाका लागि गरिएको संयुक्त अभ्यासले सहभागी टोलीलाई थप हौसला प्रदान गर्ने धारणा राख्नुभयो । मन्त्री बादेले विपद्का बेला नागरिकलाई जति छिटो उद्दार गर्न सकिन्छ, त्यही नै सरकारको सफलता हुने बताउनुभयो । उहाँले संयुक्त कृत्रिम अभ्यासले नागरिकलाई सरकार आफ्नो सुरक्षाका लागि तयारी अवस्थामा छ भन्ने अनुभूति गराउने भन्दै अभ्यासमा सहभागी टोलीहरूले भविष्यमा कुनै पनि विपद् आइपरे छिटो र प्रभावकारी प्रतिकार्य गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारीले कृत्रिम अभ्यासलाई केवल मैदानमा गरिएको अभ्यास मात्र नभई वास्तविक विपद्का समयमा सुरक्षा निकाय, मन्त्रालय र सरोकारवाला निकायबीच एकीकृत कमाण्ड तथा सञ्चार समन्वय स्थापित गर्ने प्रयोगात्मक अभ्यासका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले अभ्यासका क्रममा देखिएका सवल पक्ष र सुधार गर्नुपर्ने पक्षलाई ध्यानमा राख्दै आगामी दिनमा प्रतिकार्य योजना थप परिष्कृत बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री अधिकारीले विपद् व्यवस्थापन कुनै एक निकायको मात्र जिम्मेवारी नभएको उल्लेख गर्दै तीनै तहका सरकार, सुरक्षा निकाय, सञ्चार माध्यम, गैरसरकारी संस्था र स्थानीय समुदायको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले अभ्यासबाट प्राप्त अनुभवले भविष्यमा फिल्डमा आउने चुनौती सामना गर्न आत्मबल प्रदान गर्ने बताउँदै यस्ता क्षमता अभिवृद्धि तथा अभ्यासका कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिने उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here