प्रतिनिधिसभा बैठक जेठ २५ गतेसम्मका लागि स्थगित

0
3

हेटौंडा, १९ जेठ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा विवादका विषयमा दिएको एक अभिव्यक्तिको विरोध गर्दै प्रतिपक्षी दलहरूले संसद अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक आगामी जेठ २५ गतेसम्मका लागि स्थगित भएको छ । आइतबार बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको भनी दिएको अभिव्यक्ति कूटनीतिक र राष्ट्रिय सुरक्षाका दृष्टिकोणले आपत्तिजनक रहेको भन्दै उठेर विरोध जनाएका थिए ।
बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले संसद्को यसअघिका बैठक र अनौपचारिक छलफलमा समेत विपक्षी दलका धारणाहरू आइसकेको र त्यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । तर, सभामुखको आग्रहका बावजुद सांसदहरूले विरोध जारी राखेपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालैपालो बोल्ने समय उपलब्ध गराउनुभएको थियो ।
त्यसक्रममा नेपाली काँग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण रहेको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्रीले अन्जानवश वा जानीबुझी यस्तो अभिव्यक्ति दिएको भए पनि यसले राष्ट्रिय सुरक्षामा गम्भीर खतरा निम्त्याउने भन्दै प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्नुभयो ।
यस्तै, श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सीमाना र सार्वभौमसत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाका दृष्टिले गम्भीर प्रकृतिको रहेको भन्दै राज्यका निकाय र सत्तापक्षबाट यसको ढाकछोप गर्ने प्रयास गरिए अर्को दुर्घटना निम्तिने चेतावनी दिनुभयो ।
नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले राखेका अभिव्यक्तिको दीर्घकालीन राजनीतिक र कूटनीतिक प्रभाव रहने हुनाले देशको हितका लागि गल्ती सच्चाएर अगाडि बढ्नु नै उपयुक्त हुने सुझाव दिनुभयो।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबैको साझा मुद्दा भएकाले प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीले यस विषयमा आफ्नो आधिकारिक धारणा सदनसमक्ष स्पष्ट पार्नुपर्ने माग गर्नुभयो ।
विपक्षी दलका सांसदहरूको निरन्तर विरोध र नाराबाजीका बीच सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आंदाम्बेलाई बोल्न समय दिनुभए पनि उहाँले समय लिनुभएन। त्यसलगत्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र वाचन गरेर बैठक स्थगित गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक जेठ २५ गते सोमबार बिहान ११ बजे बस्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here