Wednesday, October 23, 2024

बिहेअगाडि जस्तो कहाँ हुन्छ त बिहे भएपछि!

ताजा / भरखरै प्राप्त

सिर्जना बस्नेत

जेठ १६ ।

विवेक मेरो मिल्ने साथी। मास्टर्स पढ्दा चिनेको उसलाई। हुन त मेरा धेरै साथी छैनन्। सामान्य हाई, हेल्लो भन्ने खालका भन्दा पनि आत्मा निकट छन्। हामी पारिवारिक र जागिरे जीवनको व्यवस्थापनको सिलसिलामा एक अर्काभन्दा कैयौं टाढा छौं।

दैनिक हाई, हेलो र हाँसी मजाक हुँदैन। महिनौ महिना एक अर्कासँग बेखवर हुँदा पनि आत्मीयता घटेको हुँदैन। साथी भनेको साथमा नहुँदा पनि महसुस गर्न सकिने सम्बन्ध रहेछ। विवेक अरू केटा साथीहरू भन्दा अलि खुला सोच राख्ने भएकाले पनि मेरो र उसको साथी नामको सम्बन्ध टिकिराखेको होला । 

उसले जहिले पनि महिला साथीहरूको सपोर्टमा कुरा राख्थ्यो। ‘केटीहरू स्मार्ट हुनुपर्छ। केटाहरूभन्दा केटीहरू कमजोर हुन्छन् भन्ने महसुस गर्ने सोच गलत भएको’ भनेर सामाजिक सञ्जालतिर पनि लेख्ने गथ्र्यो।

हामी केटी साथीहरूको बीचमा ऊ एउटा मात्र केटा साथी थियो। विवेकसँग हामीले धेरै गल्लीहरूको यात्रा गर्‍यौं तर असुरक्षा कहिल्यै महसुस भएन। केटीहरूको सर्पाट गर्ने मान्छे भएर होला उसका धेरै केटीहरू नै साथी थिए। पढाइ सकियो जागिरतिर लागियो। कलेजका धेरै साथीहरूको विवाह पनि भैसकेको थियो। म धेरैको बिहेमा गइनँ।

विवेकको विवाह यही फागुनमा हुँदै थियो त्यो पनि मेरै साथी सृष्टिसँग। उनीहरूको लामो प्रेम सम्बन्ध विवाहमा परिणत हुने खबरको म सबभन्दा नजिकको साक्षी हो। उनीहरू प्रेममा हुँदा देखिका सबै कुरा मलाई दुबैले पालैपालो सुनाउने गर्थे।

कहिलेकाहीँ विवेकले सुनाइसकेको कुरा पनि म सृष्टिलाई सुना भनेर हैरान बनाइदिन्थे। सृष्टि विवेकको तारिफ गरेर कहिल्यै थाक्दिन थिई। हुन पनि विवेक थियो नै त्यस्तै। उनीहरूको बिहेको मिति तय भएदेखि नै कस्तो लुगा किन्ने र कस्तो गहना बनाउने भनेर मलाई खुब सल्लाह माग्थे दुवै जनाले। करिब साढे दुई वर्षको अन्तरालमा मैले जागिर सुरू गरेको थिएँ। नयाँ काम सुरू गरेको महिना दिन समेत नबित्दै उनीहरूको बिहेको मिति तय हुनुले मलाई बेचैन तुल्याएको थियो।

भर्खर जोडिएको नयाँ काम अनि नयाँ जिम्मेवारी एकातिर थियो भने मेरा मिल्ने साथीहरूको बिहेका हरेक रसममा सहभागी हुने हुटहुटी अर्काेतिर। एनजिओको जागिरमा भन्नेबित्तिकै बिदा पाउन मुस्किल हुन्छ त्यसमा काम सुरू गरेको महिना दिन नबित्दै  त असम्भव जस्तै हो। हल्दी, मेहेन्दीमा पुग्न नसके पनि बिहेमा चाहिँ जसरी पुग्ने आँट भित्रैबाट मैले बटुलेको थिए। यही फागुन २१ गते मंगलबार बिहेको मिति तय भएको थियो। उनीहरूले  मलाई समेत हल्दी, मेहेन्दीमा लगाउने लुगा समेत किनिसकेका थिए। भर्खर सुरू गरेको कामको लोड एकातिर थियो, उनीहरूको बिहेमा पुग्ने हुटहुटी अर्काेतिर थियो।

झुट बोलेरै भए पनि बिहेमा चाहिँ पुग्छु भन्ने साहस चाहिँ बटुलेको थिएँ। सृष्टिसँग फोन र भिडिओमा दैनिक कुरा हुन्थ्यो। सृष्टि आफूलाई भाग्यमानी ठान्थी। म पनि सृष्टिको भागमा राम्रो जीवन साथी परेको ठान्थेँ।

नयाँ कार्यालयमा बल्ल बल्ल दुई दिनको बिदा मिलाएर सृष्टि र विवेकको बिहेसम्म पुग्ने उपाय निकालेँ।

सामाजिक संस्कार अनुसार सृष्टिको घरबाटै मसहित जन्ती गएर सृष्टिलाई विवेकको घर लिएर आयौं। भोलिपल्ट पार्टी प्यालेसमा बिहेको भव्य भोज भयो। पार्टीको बेलुका नाइट गाडी चडेर म घर फर्किएँ।

उनीहरू पनि काममा व्यस्त भएका कारण बिहेपछि त्यति धेरै घुमफिरतिर लागेनन्। नयाँ वर्ष वैशाखमा सौराहातिर घुम्न जाने योजना हामीले बनाइसकेका थियौं। बिहे पछाडि सृष्टिसँग मेरो लामो कुरा खासै भएन। उनीहरू सँगै हुँदा भिडिओ कल हुन्थ्यो कहिलेकाहीँ, सृष्टि खुसी नै देखिन्थी।

चैत २९ गते सानो गाडी रिर्जभ लिएर सृष्टिको जोडी र हाम्रो जोडी सौराहातिर लागियो। धेरै जस्तो पाइन्ट र स्कर्टमा देखिने सृष्टि लामो टप्स कुर्ती सुरूवाल घाटीमा मंगलसुत्र अनि सिउँदोमा सिन्दुरमा सजिएकी सृष्टिको त्यो रूप मैले पहिलो पटक देखेँ।

‘अहो नयाँ दुलहीलाई त हिजो मात्र बिहे भएको जस्तो देखिएको छ है,’ मैले जिस्काएँ। विवेक र सृष्टि हाँसे मात्र।

जर्डेडको टप्स लगाएकी सृष्टिलाई गर्मीले गर्दा सहज नभएको मैले महसुस गरेँ।

‘यस्तो गर्मीमा के यस्तो लुगा लगाएकी त सित्तल टिसर्ट क्याटर पेन्ट लगा न,’ मैले सामान्य रूपमा सृष्टिलाई गाली गरेँ।

विवेक केही बोलेन सृष्टिले ‘सबै कुर्ता सुरुवाल र टप्स मात्र ल्याएको छु। मैले पेन्ट नै ल्याएको छैन भनी’ म छक्क परेँ। घुम्न हिँड्दा पनि कुर्ता सुरुवाल मात्र बोक्ने स्वभावकी त थिइन सृष्टि उसको पहिरनमा देखिएको परिवर्तनमा केही बाध्यताहरू पनि लुकेका रहेछन्।

बेलुका नारायणी किनारतिर एकछिन घुमफिर गरियो। विवेक र मेरो श्रीमान चोकतिर रमाइलो हेर्न निस्के। सृष्टि र म मात्र होटलको रूममा बस्यौं। बिहे अघिकी सृष्टि र अहिलेकी सृष्टिमा मैले धेरै भिन्नता महसुस गरेँ।

उसको वैवाहिक जीवनको हालचालमा चासो साख्दै मैले नै प्रश्न गरेँ। 

‘कस्तो हुँदै छ त म्यारिड लाइफ तेरो, खुब रमाइलो भइरहेको होला होइन?,’ मेरो प्रश्न सुन्नासाथ सृष्टिको आँखाबाट आँसु पो बग्न थाले।

‘किन रोएको के भयो?,’ मैले सृष्टिलाई अंगालो मार्दै प्रश्न गरेँ। 

मलिन स्वरमा सृष्टिले कुरा सुरू गरी। 

‘विवेक देखेजस्तो रहेनछ। उनीहरूलाई संस्कारी बुहारी चाहिएको रहेछ। उसले बिहे पछाडि पाइन्ट लगाउँदा ममी रिसाउनु हुन्छ भनेर कुर्ता र टप्स लगाऊ भन्छ। सबैभन्दा पहिला बुहारी उठ्नु पर्छ भन्छ। बुहारीले सबैलाई खुवाएर मात्र खानु पर्ने रे। विवेक ढिला आउँदा समेत श्रीमानलाई कुरेर बस्नु पर्छ रे खानाको लागि भन्छन् घरमा। उसको घरबाट जे भन्यो ऊ त्यसैलाई सही भन्छ। कलेजमा तर्कवितर्क गरेर आफ्नो विचार राख्दा ऊ हामीलाई स्मार्ट गर्ल भनेर खुसी हुन्थ्यो। घरमा उनीहरूको परिवारसँग मुख नलागेको मन पराउँछ। आदर्शको कुरा गर्ने विवेक ब्यवहारमा संस्कारी श्रीमती चाहन्छ’ सृष्टिको कुरा सुनेर म चकित परेँ।

मैले कलेजमा चिनेको विवेक त जहिले पनि महिला सशक्तीकरणको बयान गथ्र्याे। महिलाको अधिकारको कुरा गथ्र्याे। कहिलेकाहीँ पार्टीतिर ऊसँगै वाइन पिउनु सामान्य कुरा हो इच्छा भए पिऊ भन्दै साथीलाई अनुरोध गथ्र्याे। महिनावारी र घर भान्साको कुरा हामी खुलेर नै ऊसँग सेयर गथ्र्यौ। विवेकसँगै धेरै सेमिनारहरूमा हामीले स्कर्ट र कोट पाइन्ट लगाएर कार्यक्रमहरूमा सहभागी हुँदा स्मार्ट देखिएको छ भनेर खुलेर नै  हाम्रो तारिफ गथ्र्याे। तर आज सृष्टिसँग बिहे भएको दुई महिनामै ऊभित्र संस्कारी श्रीमतीको भूत लुकेर बसेको कुरा कसरी विश्वास गर्नू!

म केहीबेर शून्य भएँ। सृष्टिले केही बोल्ने विचार गरेर कुराको सुरूआत मात्र गर्न थालेकी थिई बाहिरबाट ढोका ढकढकको आवाज आयो। मैले ढोका खोलेँ। विवेक र मेरो श्रीमान आएका रहेछन्। सृष्टि बाथरूमभित्र पसेकी रहिछे। विवेकको अनुहार मैले नियालेर हेरेँ। सृष्टि बाथरूमबाट मुख धोएर बाहिर निस्की। 

‘सबै जना जम्मा भएको बेलामा यसो रमाइलो गरौं भनेको त दुई जना मात्र कता गायब भएको?,’ भनेर मैले प्रश्न गरेँ।

विवेकले ‘अँध्यारोमा कता जानु हो तिमीहरू। बाहिर धेरै थरीका मान्छे छन्। खाना खाएर तिमीहरू सुत हामी नारायणी किनारमा कन्सर्ट हुँदैछ हेर्न जान्छौं भन्यो,’ उसको कुरा सुनेर मलाई झनक्क रिस उठ्यो।

‘तिमी त महिला सशक्तीकरणको व्याख्या गर्ने मान्छे। महिलाहरूको स्वतन्त्रताको परिभाषा दिने मान्छे अनि हामीलाई तिमी सँगै त्यो कार्यक्रममा जान किन रोक लगाउँछौं? नयाँ वर्ष मनाउन हजारौं विदेशी महिलाहरू एक्लै खुलेआम हिँडेका छन् केको डर आफ्नै देशमा!’ मैले बाहिर जाने प्रस्ताव राखेँ।

‘हामीसँगै जान्छन् नि यिनीहरू पनि। एक्लै कोठामा के गरेर बस्नु केको डर बाहिर हामी पनि सँगै हुन्छौं,’ मेरो श्रीमानले भने।

‘विदेशी महिलाहरूसँग तुलना गरेर हुन्छ त उनीहरू स्वतन्त्रता रुचाउँछन्। बिहे अगाडि जस्तो कहाँ हुन्छ त बिहे भएपछि। हामी आफै नाइट क्लबमा अरू केटीहरूलाई जिस्काउँछौं। धेरै पिएका मान्छे हुन्छन्। उनीहरूले जे पनि बोल्छन्। त्यस्तो ठाउँमा किन जानू। खुरूक्क नसुतेर।’

अघि सृष्टिले बयान गरेको विवेकको असली रूप छर्लङ्ग भयो। के सबै पुरूषहरू आफ्ना केटीसाथी मात्र स्मार्ट भएको हेर्न चाहन्छन्?  श्रीमती चाहिँ कम बोल्ने, मध्यरातसम्म श्रीमानलाई खाना कुरेर बस्ने सासूससुराको स्याहार गर्ने धोति फरिया भन्दा अलि आधुनिक कुर्ता सुरूवाल र सिन्दुर पोतेमा सजिने अझ भनौं घर बाहिर जागिर गरेर घरको सबै काम गर्नको लागि ठेक्का लिने। बिहेअघिसम्म स्कर्ट लगाउँदा स्मार्ट देख्ने आँखामा बिहेपश्चात संस्कारको मोतियाबिन्दु लागेर श्रीमतीको स्वतन्त्रता र रुचिको बली चडाउन लालायित हुने कस्तो बन्धन रहेछ विवाह!

साँच्चिकै पुरूष साथीहरू आफ्ना केटी साथीहरू मात्र स्वतन्त्र भएर स्मार्ट पहिरनमा हिँडेको रूचाउँछन्? केटी साथीहरूले तर्कवितर्क गरेर विचार राख्दा स्मार्ट देख्ने मान्छे पनि श्रीमती चाहिँ परिवारको विचारमा मुख बन्द गरेर टाउको हल्याउने मात्र रूचाउँछन्? श्रीमतीहरू पनि स्मार्ट बनेको किन रूचिको विषय बन्दैन? विगत केही महिनादेखि मेरो मस्तिष्कमा यही प्रश्नले जरा गाँडेर बसेको छ।

spot_img

लोकप्रिय

Related Articles